२०८२ फाल्गुण ३० गते शनिवार
अहिले भारतका विभिन्न राज्यमा कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण फैलिन सुरु भएसँगै नेपालका सीमावर्ती क्षेत्रमा जोखिम बढेको छ । कोरोनाको सुरुवाती चरण र लकडाउनका बेला सिमानामा सञ्चािलत ‘हेल्थ डेस्क’ सक्रिय थिए ।
प्रदेश नम्बर–१ का भारत सीमामा समेत सक्रियतासाथ पारिबाट आउने मानिसको स्वास्थ्य परीक्षण हुने गरेको थियो । तर, वारि कोरोना संक्रमणमा कमी आएसँगै स्वास्थ्य परीक्षण गर्ने, आउने मानिसको लगत राख्ने र निगरानी गर्नेक्रमसमेत घटेको छ । जोगबनी र काँकडभिट्टासहित साना नाकाहरुमा समेत अहिले स्वास्थ्य परीक्षण हुँदैन ।
प्रदेश सरकार र स्थानीय तहरुले भारतबाट हुने आउजाउलाई निगरानी गर्दै स्वास्थ्य परीक्षण, क्वारेन्टिन र आयसोलेसन व्यवस्थापनमा जोड दिएका थिए । तर, केही समययता क्वारेन्टिन, आइसोलेसन र संक्रमितको उपचारका लागि खोलिएका अस्पतालसमेत खाली छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार निर्देशन जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई सचेत गराएको छ । मन्त्रालयले मातहतका निकायलाई समेत सतर्क हुन भनेको छ । तर, प्रदेश–१ का मुख्य सहरहरुमा कोरोनाको जोखिम भए पनि मानिसले हेलचेक्र्याईं गर्न थालेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्न छाडेका छन् ।
प्रदेश–१ का सामाजिक विकासमन्त्री हिक्मत कार्कीले धेरै अत्तालिनुभन्दा पनि सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेका छन् । कार्कीले भने, “अहिले सबैतिरका सीमाबाट हुने आउजाउ खुलेको छ । तर, नागरिक आफूले पनि सचेत हुँदै स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । हामीले विगतमा सञ्चालन गरेका क्वारेन्टिन, होल्डिङ सेन्टर र कोरोना उपचारका लागि खोलिएका अस्पताललाई समेत पुनः ब्युँताउने तयारी थालिसकेका छौँ ।”
उनले भारतका विभिन्न राज्यमा फैलिएको कोरोनाको संक्रमण यतासमेत सर्न सक्ने जोखिम रहेको बताए । तर, धेरै आतंकित हुनुभन्दा पनि जोखिमको आंकलन गरेर सतर्क हुनुपर्ने सुझाए ।
कोरोना अस्पताल खाली, कर्मचारी हटाइए
प्रदेश सरकारले विराटनगर महानगरपालिका–१०, मलायारोडमा सञ्चालनमा ल्याएको कोसी कोभिड अस्पतालमा बिरामी छैनन् । बिरामी शून्यमा झरेपछि सरकारले खटाइएका कर्मचारीसमेत हटाएको छ । करारमा खटाइएका चिकित्सकसहितका कर्मचारीको करार अवधि थप नगरिएपछि अस्पताल कर्मचारीविहीन बनेको हो ।
गएको फागुन २८ गते नै करार अवधि सकिएका चिकित्सक, नर्स र पारामेडिकललाई हटाइएको हो । त्यहाँ आठजना मेडिकल अफिसर, आठजना स्टाफ नर्स, आठजना एचए, तीनजना सफाइ कर्मचारी, इलेक्ट्रिसियन र प्लम्बर चारजना, बायोकेमिकल इन्जिनियर एक, कार्यालय सहायक ९ र एकजना गार्डको दरबन्दी सिर्जना गरी नियुक्ति दिइएको थियो । गत वर्षको चैत २१ गतेदेखि ८० बेड क्षमताको अस्पताल सञ्चालन गरिएको थियो ।
त्यहाँ दैनिक ६० जनासम्म कोरोना संक्रमित भर्ना हुने गरेका थिए । आठ बेड आईसीयू, एमडीबेड २२ र रिकभरी १२ बेडको सुविधा थियो । पुस ५ गतेदेखि अक्सिजन सेवासहितको अस्पताल १०० बेडको छ । विराटनगर महानगरपालिकाको पहलमा नगारिक केयर सेन्टरसमेत खोलिएको हो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा जम्मा ८२९ जना संक्रमित भर्ना भएका थिए । तीमध्ये १९ महिलासहित ५६ जनाको उपचारको क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ ।
भेटिन थाले नयाँ संक्रमित
विराटनगरमा पछिल्लो केही दिनयता भारतबाट आएका मानिसमा कोरोनाभाइरस संक्रमण देखिएको छ । यसअघि, दुई सातासम्म कसैमा पनि संक्रमण देखिएको थिएन । तर, गएको शनिबार गरिएको परीक्षणमा चारजना नयाँ संक्रमति फेला परेका छन् । कोसी अस्पतालका अनुसार उनीहरुको ‘ट्राभल हिस्ट्री’ हेर्दा सबै भारतबाट आएको देखिएको छ ।
अस्पतालका मेसु डा। चुमनलाल दास भन्छन्, “भारतबाट आएका मानिसमा पुनः कोरोनाको संक्रमण देखिन सुरु भएकोले सतर्क हुन जरुरी देखिएको छ । अब स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने संक्रमण अझ बढेर जाने जोखिम छ ।” दासले सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिड नगर्ने र बारम्बार हात धोइरहने बानी छाड्न नहुने सुझाव दिए ।
विराटनगरको बजार क्षेत्रमा अहिले मास्क नलगाउने, भिड गर्ने गरेको पाइएको छ । महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, “स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्न कमजोरी गर्नु हुन्न, फेरि संक्रमणको जोखिम बढेको छ ।” मेयर पराजुलीले संक्रमण बढ्दै गए महानगरले क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालन गर्ने बताए ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक डा। दिलीपकुमार यादवले संक्रमणको जोखिम कायमै रहेकोले हेलचेक्र्याईं गर्न नहुने सुझाव दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij