२०८२ फाल्गुण ३० गते शनिवार
कास्की । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी मुस्ताङ थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन् ।
सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकोले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो ।
उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र १ थान, फ्लाईरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान, १ थान मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि १ थान बरामद भएको छ ।
उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij