Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अधिकृत भएर काम गर्दै गरेको कल्पना गरेर तयारी गरेँ,एकै लटमा यसरी नाम निस्कियो

अधिकृत भएर काम गर्दै गरेको कल्पना गरेर तयारी गरेँ,एकै लटमा यसरी नाम निस्कियो


  • 32.4K
    Shares

    अधिकृत भएर काम गर्दै गरेको कल्पना गरेर तयारी गरेँ,एकै लटमा यसरी नाम निस्कियो
    images

    उद्धवप्रसाद अधिकारी, शाखा अधिकृत 

    निजामती सेवामा प्रवेश
    निजामती सेवामा प्रवेश गर्नुअघि लामो समय निजी विद्यालयहरूमा शिक्षण गर्थेँ । बुवा–आमाको निरन्तरको उत्प्रेरणा, दाजु–बहिनी र साथीहरूको प्रभाव र निजी शिक्षण संस्थाहरूले दिने असाध्यै न्यून तलबका कारणले पनि मलाई निजामती सेवातर्फ आकर्षित गर्‍यो । 

    फागुन ०६९ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेको हुँ । त्यसपछि ०७१ मा नायब सुब्बामा उत्तीर्ण भएँ र त्यसको एक वर्षपछि ०७२ मा शाखा अधिकृत पदमा दोस्रो नम्बरमा उत्तीर्ण हुन सफल भएँ ।

    समय व्यवस्थापन : एउटा महत्वपूर्ण कला
    लोकसेवा आयोगले हामीसँग कति ज्ञान छ भनेर मात्र परीक्षा लिएको होइन । सीमित समयभित्र आफ्नो ज्ञान अभिव्यक्त गर्ने कलाको पनि परीक्षा लिएको हो । त्यसैले यो केवल ज्ञानको परीक्षण मात्र होइन, समय व्यवस्थापनको परीक्षण पनि हो । परीक्षाको तयारीको दौरान होस् अथवा परीक्षामा सहभागी हुँदाको क्षण, समय व्यवस्थापन अत्यन्तै महत्वपूर्ण कला वा चुनौतीका रूपमा सधैँ रहिरहन्छ ।

    सामूहिक तयारी असाध्यै प्रभावकारी बन्यो
    मैले धेरैजसो समय समूहमा बसेर लोकसेवा तयारी गरेँ । साथीहरूसँगको निरन्तरको अन्तरक्रिया र छलफलले आफूमा भएका गलत बुझाइहरूको निराकरण हुन्छ । 

    द्विविधाहरू हट्दछन् र विषयवस्तुको गाम्भीर्य पनि बोध हुन्छ । प्रत्येक दिन क्रमशः कुनै एकजना साथीले प्रश्नपत्र तयारी गर्ने र बाँकी साथीहरूले परीक्षा दिने गर्दा एकातिर मनबाट परीक्षाको डर हट्थ्यो भने अर्कोतिर ज्ञान र आत्मविश्वासमा पनि अभिवृद्धि हुन्थ्यो । 

    ऐनाअगाडि उभिएर पढ्थेँ
    म घरमा हुँदा प्रायः जसो ऐनाअगाडि उभिएर पढ्थेँ । अल्छी लाग्दा कोठामा हिँड्दै पनि पढ्थेँ । मनमनै पढ्दा ध्यान बाहिर जान्छ भनेर म आज पनि सधैँ बोलेर पढ्ने गर्छु । लोकसेवाको तयारी गर्दा आफू अधिकृत भएर काम गरिरहेको कल्पना गर्दै पढ्थेँ । 

    अध्ययनमा ‘ब्रेथलेस’ मेथड प्रयोग गरेँ
    सामान्य ज्ञानका कतिपय विषयहरू अध्ययन गर्दा मैले ब्रेथलेस मेथडको प्रयोग गरेँ । जस्तै जिल्लाहरूको नाम वा बाइसे चौबीसे राज्यहरूको नाम वा अन्य यस्तै प्रकारका धेरै विषयहरू सम्झँदा म एकै श्वासमा भन्ने प्रयत्न गर्थेँ । भारतका शंकर महादेवनले ब्रेथलेस गीत गाएजस्तै वा हामीेले सानो छँदा कबड्डी खेलेजस्तै एकै श्वासमा भन्ने प्रयत्न गर्दा त्यो पढाइ, पढाइ नभएर खेल खेलेको जस्तै अनुभूति हुने रहेछ । यो तरिका मेरा लागि यति प्रभावकारी भयो कि म श्वास नफेरी ४०÷५० वटा जिल्लाहरूको नाम १५ सेकेन्डभित्र भनिसक्थेँ । 

    कथा, कविता र गीत नै लोकसेवा पास गर्ने सारथी बने
    मैले धेरैजसो नेपाली र हिन्दी चर्चित गीतहरूको लयमा आफ्नो पढाइसम्बन्धी गीत बनाएको थिएँ । मैले तयारीको दौरान आफ्नो पढाइसम्बन्धी झन्डै ३०० भन्दा बढी गीत मोबाइलमा रेकर्ड गरेको थिएँ । त्यसलाई हरेक दिन स्पिकरमा बजाएर सुन्थेँ र सँगसँगै गाउँथेँ । ‘फास्ट बिट’का गीतहरूमा नाच्दै पनि पढेँ । 

    सम्झन गाह्रो हुने कतिपय विषयहरूलाई अपत्यारिला वा हाँसो लाग्ने कथाहरू बनाएर पढ्थेँ । कतिपय विषयहरूलाई कवितामा वाचन गर्दै पढ्थेँ ।

    यसरी जगाएँ आफैँभित्र उत्प्रेरणा 
    परीक्षा तयारीका दौरान मनमा धेरै नकारात्मक भावनाहरू खेल्दछन् । तर, हामीले बुझ्नैपर्ने कुरा के छ भने कोही अब्बल भनिएका प्रतिस्पर्धीहरूको अनुहार हेरेर आफूलाई कमजोर बनाउनुहुँदैन । हामी सबै अब्बल छौँ । प्रश्न यति मात्र हो कि हामीले आफ्नो अध्ययन शैलीलाई आफ्नो स्वभाव अनुकूल बनायौँ कि बनाएनौँ । अथवा हाम्रो लेखन शैली सिर्जनशील र कलात्मक भयो कि भएन ।  

    म स्कुल र कलेजको परीक्षामा धेरै अब्बल विद्यार्थी होइन । औसत छात्र नै हुँ । तर, समय क्रममा आपूmमा आएको जिम्मेवारीबोध, आफ्नो स्वभाव अनुकूल बदलिएकोले पढ्ने शैली र मेहनत गर्ने बानीको विकासमा पनि मलाई विद्यालयीय परीक्षामा भन्दा लोकसेवा अयोगको परीक्षामा आशातीत सफलता मिल्यो । त्यसैले, मेरो जीवनमा लोकसेवा पास गर्ने मानक स्कुल कलेजको सर्टिफिकेटको अंक कहिले पनि बनेन ।

    समग्रमा भन्दा लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भएर मात्र नपुग्ने बरु तुलनात्मक रूपमा आफूलाई अब्बल साबित गर्नुपर्ने भएकाले सकारात्मक सोच, धैर्यता, लगनशीलता, निरन्तरको परिश्रम र समाधानमुखी दृष्टिकोणले नै अपेक्षित सफलता दिलाउन सक्छ ।

    अधिकारी नेपाल सरकारकाे  शाखा अधिकृत हुन् ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १३:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij