२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । मोटरसाइकलसँगै अब निजी गाडी पनि राइड सेयरिङ गर्न सकिने गरी साथीले आफ्नो सेवा सुरु गरेको छ। अहिले सञ्चालन भइरहेको राइड सेयरिङ सेवाहरुमा नअटेको नयाँ सेवासहित साथीले अनौपचारिक रुपमा सेवा सुरु गरेको छ।
साथीले पहिलो चरणमा मोटरसाइकलमार्फत् आफ्नो सेवा सुरु गरेको कम्पनीका प्रबर्द्धक सन्जित पौडेलले जानकारी दिए। मोटरसाइकल पछि भने निजी गाडीलाई पनि राइड सेयरिङ प्लाटफर्ममा भित्र्याउने तयारी भइरहेको उनले बताए। एपमा निजी गाडीको फिचर राखिसकेको भएपनि कार्यान्वयनमा भने केही समय भित्रै ल्याइने बताइएको छ।
कम्पनीले केही समय भित्रै साथीलाई औपचारिक रुपमा सार्वजनिक गरेपछि रुट नै तोकेर सेवा सञ्चालन गर्ने कम्पनीका अर्का प्रबर्द्धक देवकुमार श्रेष्ठले बताए। साथीले रत्नपार्कलाई आधार बनाएर चाबहिल, कोटेश्वर, लगनखेल, कलंकी, बालाजु, गोंगबु र महाराजगञ्जसम्म तलबै दिएर राइडरहरु उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए।
अन्य राइड सेयरिङ कम्पनीहरुले प्रति राइड १० देखि २० प्रतिशतसम्म कमिसन लिँदै आएकोमा साथीले भने पाँच प्रतिशत मात्रै लिने श्रेष्ठले बताए। कम्पनीले महिला राइडरहरुलाई प्रोत्साहन गर्न पुरुषहरुको तुलनामा केही कम कमिसन लिने रणनीति बनाएको उनले जानकारी दिए।
कम्पनीले तीन किलोमिटरसम्मको न्यूनतम भाडा २० रुपैयाँ र त्यसपछि प्रति किमी १० रुपैयाँका दरले भाडादर कायम गरेको श्रेष्ठले बताए। कम्पनीले पहिलो लटमा ५० जना राइडरलाई फुल टाइम उक्त रुटहरुमा पठाउने र यो संख्यामा केही समय भित्रै एक सयमा पुर्याउने लक्ष्य लिएको छ।
कम्पनीले मोटरसाइकल खरिद गर्न चाहने राइडरहरुलाई सस्तो ब्याजदरमा कर्जाको सुविधासँगै वार्षिक बोनस पनि दिने श्रेष्ठको दाबी छ। यसका लागि कम्पनीले बैंकहरुसँग सम्झौता गर्ने तयारी गरेको जनाएको छ। प्रयोगकर्ताहरुले क्यूआर कोडमार्फत् नै साथीको शुल्क तिर्ने सुविधा पनि रहेको छ।
प्रयोगकर्ताहरुलाई सहज होस् भनेर कम्पनीले लाउन्ज, रेष्टुरेन्टलगायतका स्थानहरुबाटै साथीको सेवा टेबल बुकिङमै उपलब्ध गराउने योजना बनाएको पौडेलले बताए ।
यस्तै, साथी एप प्रयोग गरी उपभोक्ताहरुले देशभरका सबै एयरपोर्टमा सवारीसाधन बुकिङ गर्न सक्ने छन्। जसका लागि अहिले सम्बन्धित विमानस्थलमै सञ्चालनमा रहेका सवारीसाधनलाई साथीमा अनुबन्ध गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। कम्पनीले हरेक एयरपोर्टमा आफ्ना एजेन्टहरु खटाउने जनाएको छ।
उपभोक्ताहरुले एउटै गाडीमा अन्य यात्रुहरुसँगै यात्रा गर्न पनि सक्ने बताए। "विमानस्थल नपुगी नै तपाईं जहाँ हुनुन्छ त्यहीँबाट गाडी बुकिङ गर्न सक्नुहुन्छ, बार्गेनिङ गर्नुपर्ने झन्झट पनि हुँदैन," श्रेष्ठले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij