२०८२ भाद्र २७ गते शुक्रवार
अमेरिकाको शिकागोमा प्रहरीले एक व्यक्तिको कारमा ४१ सेकेण्डमा ९६ गोली प्रहार गरेको घटना बाहिर आएको छ । प्रहरीको गोली लागेर चालकको तत्कालै मृत्यु भएको थियो ।
यो घटना २१ मार्चको भए पनि हाल भिडियो बाहिर आएको हो । भिडियो घटनाका क्रममा त्यहाँ रहेका एक प्रहरी अधिकारीको पोशाकमा रहेकाे बडी क्याममा रेकर्ड भएको थियो । जसमा ५ जना प्रहरीलाई एउटा सेतो रंगको कारमा फायरिङ गरिरहेको देख्न सकिन्छ ।
प्रहरीले डेक्सटर रिड नाम गरेका ती व्यक्तिले एक प्रहरी अफिसरमाथि गोली चलाइको र त्यसको जवाफमा बाँकी प्रहरीले गोली हानेको दाबी गरेको छ । यद्यपि भिडियोमा रिडले गोली चलाएको देखिएको छैन ।
तर उनको कारमा बन्दुक भने फेला परेको छ । ड्राइभिङका क्रममा सिट बेल्ट नबाँधेका कारण प्रहरीले उनलाई रोकेको थियो । २६ वर्षीय डेक्सटर रिडले कार रोके पनि कारको झ्याल खोलेर फेरि लगाएका थिए ।
प्रहरीले उनलाई बाहिर आउन भने पनि बाहिर नआएपछि बन्दुक निकालेर हान्न थालेका थिए । त्यसपछि रिड तत्काल जमिनमा ढलेका थिए । प्रहरी एकाउन्टिबिलिटी टिमले पनि पहिले रिडले गोली चलाएको र जवाफी कारबाही गरिएको दाबी गरेको छ ।
ट्राफिक नियम पालना नगरेको आरोपमा गोली नै चलाएका घटना अमेरिकामा यसअघि पनि देखिएका थिए ।
सन् २०१७ मे मा फिनिक्स सिटी, अलस्कामा सिटबेल्ट नलगाएका अश्वेत सेड्रिक मिफलिनले कार नरोकेपछि प्रहरी अधिकारी माइकल सिभर्सले गोली हानी हत्या गरिदिएका थिए ।
२७ जुन, सन् २०२३ मा पनि जेलेण्ड वाकर नाम गरेका व्यक्तिको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अमेरिकामा सामान्य विषयमा प्रहरीले अश्वेत नागरिकको हत्याको शृङ्खला जारी राखेको छ ।
द इकोनोमिस्टको रिपोर्टअनुसार प्रहरीको हातबाट मारिने श्वेतको तुलनामा अश्वेतको संख्या तीन गुणा बढी छ । अमेरिकी जेलमा ३३ प्रतिशत कैदी अश्वेत रहेको पाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij