२०८२ भाद्र २ गते सोमवार
११४ औं नारी दिवसको अवसरमा ‘म्हैपी महिला समाज’द्वारा प्रकाशित बुलेटिन ‘महिला आवाज’को विमोचन कार्यक्रम सम्पन्न भएको छ । विमोचन कार्यक्रम सिर्जना सिंह श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
समाजकी अध्यक्ष रिता श्रेष्ठ प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सिर्जना सिंह श्रेष्ठले बुलेटिनको बिमोचन पश्चात् आफ्नो मन्तव्य राख्ने क्रममा मंगलादेवी सिंहको प्रेरणा र हौसलामा आफू अघि बढेको बताउँदै आर्थिक रुपले महिलाहरू सक्षम नभएसम्म समानताको नारा साकार पार्न नसकिने धारणा राख्नुभयो ।
गृहिणीहरूको समस्या र मर्का आफूले बुझेको बताउँदै उहाँले गृहिणी भत्ताको व्यवस्था हुनुपर्ने बिचार व्यक्त गर्नुभयो । काठमाडौंमा पुरुषभन्दा महिला बढी भएपनि आफू महिला उम्मेदवार हुँदाहुँदैपनि मेयरको चुनावमा जित निस्कन नसकेको स्मरण गर्दै सिंहले महिला मुद्दा उठाउन महिलानै चाहिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथी काठमाडौं क्षेत्र नं. ६ ‘क’की सभाषद् हरिप्रभा खड्गी श्रेष्ठले आफूले राजनीतिको माध्यमबाट वडासदस्यदेखि प्रदेश सभा सदस्यसम्म आउँदा भोग्नुपरेको समस्या र गर्नुपरेको संघर्षको स्मरण गर्दै महिलाहरू संघर्षबाट डराउन नहुने बिचार राख्नुभयो । लक्ष्य प्राप्ति नभएसम्म अघि बढिरहने दृढता लिएर अघि बढ्न सभामा सहभागीहरूलाई उहाँले आग्रह गर्नुभयो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता एवम् कामपा १७ का वडाअध्यक्ष नविन मानन्धरले महिला दिवसको अवसरमा बुलेटिन प्रकाशन गरेकोमा आयोजकलाई बधाई दिँदै बुलेटिन निरन्तरताको निम्ति शुभकामना दिँदै आफूले पनि प्रकाशनको निम्ति आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एउटा परिवारमा एक महिला शिक्षित भएमा परिवार नै शिक्षित हुने भएकोले महिला शिक्षा अत्यन्त आवश्यक भएको उहाँको धारणा थियो ।
उत्तम कुमार श्रेष्ठको सम्पादनमा प्रकाशित उक्त बुलेटिनको सल्लाहकारमा सानुराजा महर्जन रहनुभएको छ । साथी श्रम केन्द्रकी अध्यक्ष सजना नकर्मीले संचालन गर्नुभएको उक्त कार्यक्रममा ४० भन्दा बढी संघसंस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम काठमाडौं खुसिबुँ टाउनप्लानिङस्थित वहुउद्देश्यीय मार्शल आर्टस् केन्द्रको हलमा सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij