२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४२ करोड ५६ लाख रूपैयाँमा काठमाडौंको कोटेश्वरमा ७ रोपनी जग्गा किनेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणसँग बोर्डले सरकारी मूल्यांकनभन्दा प्रतिआना २ लाख रूपैयाँ बढी तिरेर जग्गा किनेको हो ।
कोटेश्वर बहुमुखी क्याम्पस नजिकैको यो जग्गाको सरकारी मूल्यांकनअनुसार प्रतिआना ३६ लाख रूपैयाँ छ । बोर्डले प्रति आना ३८ लाख रूपैयाँका दरले ११२ आना अर्थात् ७ रोपनी जग्गा किनेको हो ।
'हामीले सम्झौताअनुसारको पैसा तिरेका छौँ, अब जग्गा पास भएर हाम्रो नाममा आउला,' धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी मूल्यांकन र प्रचलित बजार मूल्य भन्दै दुईवटा दर प्रस्ताव गरेको थियो । प्राधिकरणले बजार मूल्य प्रतिआना १ करोड ३० लाख रूपैयाँ रहेको भन्दै त्यसैअनुसार कारोबार गर्ने गरी मूल्य प्रस्ताव गरेको हो ।
तर दुवै सरकारी निकायबीचको आपासी छलफलमा मूल्य तय भएको छ । प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले दुवै सरकारी निकाय भएकाले आपसी छलफलबाट मूल्य निर्धारण गरिएको जानकारी दिए ।
बोर्ड अहिले खुमलटारमा भाडाको भवनमा बसिरहेको छ। कोटेश्वरमा बोर्डले अब नयाँ भवन बनाउने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij