२०८२ भाद्र ५ गते बिहिवार
गोरखा । गोरखा नगरपालिकाको १३ औं अधिवेशनमा छलफल गर्ने समय उपलब्ध नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसबाट निर्वाचित नगरसभा सदस्यले तालाबन्दी गरेका छन् । बहुमत, अल्पमतको समेत ख्याल नगरी अधिवेशनका अध्यक्षबाट कार्यसूचीका दफाहरु एकलौटी ढंगले स्वीकृत भएको घोषणा गर्दै अन्त्य भएको घोषणा गरिएको असन्तुष्ट नगरसभा सदस्यको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अध्यक्षबाट प्रस्तुत कार्यसूचीहरुमा दफावार छलफल गर्ने समय उपलब्ध गर्न माग गर्दा गर्दै सभाका अध्यक्षले समय उपलब्ध नगराएको र कार्यसूची वमोजिमका विषयमा निर्णयार्थ प्रस्ताव गर्दै 'हुन्छ' वा 'हुन्न' भन्ने शब्दहरुको अल्पमत, बहुमतको समेत ख्याल नगरी नगरसभा सदसयहरुको आवाजलाई बेवास्ता गरियो,’ विज्ञप्तिमा भनिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट पनि समन्वयकारी भूमिका निर्वाह नभएको विज्ञप्तिमार्फत नगरसभा सदस्यले असन्तुष्टि जनाएका छन् । पुन: नगरसभा आहृवान गरी कार्यसूची बमोजिमको नयाँ सिराबाट सभा संचालनको व्यवस्था मिलाउन पनि माग गरिएको छ । बिहीबारको भएको नगरसभामा विनियोजन ऐन, २०८० को पहिलो संशोधन तथा केही योजना तथा कार्यक्रमहरु संशोधनका लागि पेस गरिएको थियो ।
प्रक्रियाभन्दा बाहिर गएर नगर प्रमुखले नगरसभा संचालन गरेको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताइन् । ‘नगरसभा सदस्यले हात उठाउँदा उठाउँदै २ मिनेट आफ्ना कुराहरु राख्न पनि पाउनुभएन,’ उनले भनिन्, ‘नगरसभा नै ३१ मिनेटमा सिध्याइयो ।’ नगर प्रमुख कृष्ण रानामगरले भने नियम र प्रक्रियाअनुसार नै नगरसभा संचालन भएको बताए । ‘सबै प्रस्तावहरु पारित भएपछि अन्तिममा समापन गरेको हो,’ उनले भने, ‘कार्यसूचीमा जे छ त्यहीअनुसार भएको छ ।’
गोरखा नगरपालिकाको नगरसभामा कांग्रेसको बहुमत छ । मेयर नेकपा माओवादी केन्द्र र उपमेयर कांग्रेसबाट विजयी बनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij