२०८२ माघ १० गते शनिवार
वि.सं. १८७२ फागुनमा इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धि पछि रुष्ट भएका बलभद्र कुँवर वि.सं. १८७६ मा पञ्जाव केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए । यसरी लाहुरे संस्कृतिको शुरुवात भएको थियो ।
लाहुरे शब्दसँगै वीर, बफादार, निडर तथा कर्तव्यनिष्ठ सैनिकको रुपमा गोर्खालीहरुको परिचय पनि पाएको थियो । विश्वभर वीरताको गाथाले प्रख्यात गोर्खाली लाहुरे मध्य कुनै एक देवताको रुपमा पनि पुजिने गरिएको छ । के कसरी देवता पनि बने खासै जानकारी भएन । तर एउटा कथा सुपादेउराली क्षेत्रमा प्रख्यात छ ।
सुपादेउराली मन्दिर नजिकै ढुङ्गे पहाडको भिरमा ढ्ङ्गाको कापबाट बगेको रसायनबाट बनेको एक आकृतिलाई लिएर एउटा कथा बनाइएको छ । त्यो आकृतिलाई लाहुरेलाई सुपादेउराली भगवतीले भित्तामा टाँसिदिएको भनिन्छ ।
कुनै बेला यसै क्षेत्र नजिकै बसोबास गर्ने कुनै युवाले सुपादेउरालीमा लाहुरे भर्ति हुनसकेमा देवीलाई बोका चढाउने भाकल गरेछ । युवा लाहुरे भर्ति त भए तर देवीलाई भाकलको बोका चढाउन बिर्सिएछ । यसरी भाकल पुरा गर्न नसक्दा देवीको मन्दिर रहेको बाटो छलेर पहराबाट गाँउ तर्फ लाग्दा देवीले भाकल पुुरा नगरि भागेको हुँदा पहरामा टाँसिदिएको भन्ने कथा सुनाउने गर्दछन् ।
पहरामा देखिएको आकृति ढुङ्गाको कापबाट बाहिर बगेको कुनै रसायन हो, जसलाई निकैबेर नियालेर हेर्दा कुनै लाहुरेको आकृति जस्तो लाग्दछ । यहाँ कथासंगै कालान्तरमा लाहुरे पनि देवताको रुपमा मुर्ति बनाइएर पुजिएको यहाँ देख्न सकिन्छ । साथै पहराको तल रहेको बजारको नाम नै लाहुरे बजार रहन गएको छ ।
सुपादेउरालीको इतिहास खाँचीकोटका राजकुमार र भारत बलरामपुरका राजकुमारी बिच भएको विवाह र बिबाह पछि खाँची आँउदै गर्दा नवदुलही राजकुमारीले डोलीमै गरेको आत्महत्या पछि भएको अनिष्ट शान्त गर्न देवी स्थापना गराई यो मन्दिर बनाइएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij