२०८२ चैत्र १ गते आइतवार
कैलाली । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ ।
भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु एक लाख १८ हजार ९०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ ।
चिनी बरामद
धनगढी उपमहानगरपालिका–१९ खेदाबाट रु एक लाखभन्दा बढीका भन्सार छलीका सामान प्रहरीले आइतबार बरामद गरेको छ ।
भन्सार छली ल्याइरहेको अवस्थामा ३० बोरा चिनी, मोबिल र प्लाष्टिकको डोरी गरी रु एक लाख सात हजार १०० बराबरका सामान बरामद गरिएको प्रनाउ विष्टले जानकारी दिनुभयो ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij