Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राउटे समुदायमा अत्यधिक मदिरामोह, भत्ता रक्सीमै खर्च

राउटे समुदायमा अत्यधिक मदिरामोह, भत्ता रक्सीमै खर्च


  • 2.6K
    Shares

    राउटे समुदायमा अत्यधिक मदिरामोह, भत्ता रक्सीमै खर्च

    दैलेख । २०७२ सालमा अछामको तुर्माखाँद गाउँपालिका कुजेडा स्थानमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उपचारका लागि काठमाडौं लगिए पनि घाउ निको भएन । घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए ।

    नियमित मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो । अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए । यसअघि मुखिया ऐनबहादुर शाहीको तल्लोडेश्वर र कृष्णबहादुर शाहीको अछाम तुर्माखाँदको भैरवस्थानमा अत्याधिक मदिरा सेवनले गर्दा लडेर मृत्यु भएको थियो ।

    २०७९ सालमै दैलेखको नारायण नगरपालिका–८ सालखर्कमा राउटे युवा नारायण शाही अत्यधिक मदिरा सेवनका कारण जले । उपचारका क्रममा काठमाडौंमा उनको मृत्यु भयो ।

    मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन्, शिवराज शाही । बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले वैशाख २०७८ मा ज्यान गुमाएका थिए ।

    पछिल्लो पाँच वर्षमा राउटे समुदायका ३८ जनाले ज्यान गुमाएका छन् । धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन् । मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

    फरक भेषभूषा, जीवनशैली, परम्परा, संस्कृति र संस्कारलाई वर्षौंदेखि निरन्तरता दिइरहेका घुमन्ते यो जातिको अस्तित्व दिनप्रतिदिन संकटमा पर्दै गएको छ । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाका रूपमा चिनिने यो समुदाय दैलेख, जाजरकोट, सल्यान दाङ, सुर्खेत, अछाम कालिकोट र बर्दिया जिल्लाका जंगलमा बसोबास गर्ने गर्छन् । यो जाति दक्षिण एसियाको एक मात्र फिरन्ते जाति हो ।

    पछिल्ला दिनमा राउटेहरू मदिरा र सुर्तीजन्य वस्तुका अम्मली बनेका छन् भने त्यही कारण उनीहरूको ज्यान पनि गइरहेको छ ।

    अत्याधिक लिची नामका मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा ख्याल नगर्नु, सरसफाइमा ध्यान नदिनुले अधिकांश बालबालिकामा कुषोपण देखिएको माघे संक्रातिमा राउटे बस्तीमा पुगेका बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए । उनले भने, ‘सरसफाइ र पोषणमा ध्यान दिने हो र मदिरा न्यूनीकरणमा लागे यो जीवित सम्पदा जोगिनेछ । नत्र, गाह्रो छ ।’

    राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने हेरचाह र खानपान नमिल्दा हुर्किन नपाउँदै बालबालिकको ज्यान जाने गरेको छ । सरकारले राउटे जातिमा मदिरा नियन्त्रण नगर्ने हो भने उनीहरूलाई इतिहासमा मात्र पढ्न पाइने राउटेका जानकारको भनाइ छ ।

    ‘राउटेको मदिरा सेवनको लत बन्द गर्नुपर्छ,’ उनी भन्छन्, ‘सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने प्रवृत्ति राउटे समुदायमा छ, यसले समुदाय नै लोप हुने अवस्था नआउला भन्न सकिँदैन, त्यसैले अब सामाजिक सुरक्षा भत्ता नगद दिन बन्द गर्नुपर्छ ।’

    राउटेलाई भत्ताको साटो पोषणयुक्त आवश्यक खाद्यान्न उपलब्ध गराउनुपर्ने समाजशास्त्री मानबहादुर साहु बताउँछन् । उनले राउटे समुदायको अस्तित्व संरक्षण गर्न राउटे समुदायका नागरिकलाई मदिरा बिक्रीवितरणमा रोक लगाउनुपर्ने बताए । राउटे संरक्षण विशेष क्षेत्र घोषणा गरिनुपर्ने डा. पुनको भनाइ छ । ‘पहिले राउटेहरू गिठ्ठा भ्याकुर, तरुललगायतका जंगली कन्दमूलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पु¥याएको देखिन्छ,’ साहु भन्छन् ।

    सामाजिक सुरक्षा भत्ता रक्सीमै खर्च

    संघीय सरकारले राउटे समुदायलाई आर्थिक वर्ष २०६५–६६ देखि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दैै आएको छ । हाल राउटे समुदायले प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ भत्ता पाउँछन् । भत्ता बुझेको केही दिनमै उनीहरू मदिरा सेवनमा सो पैसा सक्छन् ।

    पहिलापहिला राउटेहरू आफैंले बनाएको अन्न जाँड झुमामा कुहाएर खान्थे । तर, अहिले सबै बजारका रक्सी खान थालेका छन् । राउटे समुदायमा महिला र पुरुष दुवैमा अत्यधिक रक्सी सेवन गर्ने समस्या छ । पछिल्ला दिनमा त बालबालिकामा पनि अभिभावकसँगै रक्सी खाने बानी परेको छ ।

    बाबुआमाले मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिनेबित्तिकै मर्न थालेको राउटे मुखिया दिलबहादुर शाहीको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :माघ ७ २०८० आइतवार - ०८:५४:४४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij