२०८२ भाद्र २३ गते सोमवार
भर्जिनिया । डिसेम्बर २२ तारिखमा भर्जिनियाको मनाससमा युवाहरुले ऐतिहासिक लोक दोहोरीको आयोजना गरेका छन्। समाजसेवी तथा लोकगायक कृष्ण कँडेल कार्यक्रममा आउने थापा पाएपछि घरघरबाट बृद्धबृद्धा हौसिएका थिए।
ब्यापक प्रचार भएको कार्यक्रममा लोकगायक प्रेमराजा महत, लोकगायक रामप्रसाद खनाल, लोकदोहोरी गायिका निशा सुनार र कृष्ण कँडेल आफैंले पनि लोक जुवारी खेलेका थिए। जुवारीको घम्साघम्सीमा दर्शक हलैभरी छरिएर नाचेका थिए।
दर्शकले खचाखच हलमा टिकट हाउसफुल भएपछि धेरै दर्शक कार्यक्रम नहेरी फर्किनुपरेको थियो। कार्यक्रमलाई टेलिभिजन उद्घोषक सरोज केसी र रुषा केसीले संचालन गरेका थिए।
व्यवासायी तथा पत्रकार निदेश अधिकारी, रियल्टर गणेश पाण्डे, मिलन गोर्खाली तथा सरोज केसीको आयोजनामा भब्य कार्यक्रम सम्पन्न भएको थियो। पहिलेका कार्यक्रममा भन्दा भिन्न किसिमले संचालन गरिएको कार्यक्रम ३५ मिनेट ढिलो सुरु गरिएपनि पारिवारिक वातावरणमा सम्पन्न भएको थियो।
प्रायोजकलाई अत्यन्तै महत्व दिएर गरिएको कार्यक्रममा कृष्ण कँडेलको हातबाट प्रायोजकले सम्मान पत्र ग्रहण गरेका थिए। बृद्धबृद्धाबीच अत्यन्तै लोकप्रिय लोक दोहोरी कार्यक्रम आउदा दिनहरुमा पनि आयोजना गरिने भन्दै आयोजक निदेश अधिकारीले आफूलगायत टीमलाई हौसला मिलेको बताए।
कार्यक्रममा अमेरिकामै जन्मिएकी सरिसा अधिकारी र आयूसा आचार्यले लोक गीतमा नृत्य प्रस्तुत गरेका थिए। मेरिल्याण्डबाट नेपाली बाजा बजाउनेहरुको टीम नै ल्याएर लाइभ म्युजिकमा दोहोरी खेलाइएको थियो। यस्तो किसिमको कार्यक्रम भर्जिनियामा पहिलो पटक भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij