२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका हुन् ।
सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गर्नुभयो र धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए ।
त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।
समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकहरू लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँबानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेञ्ज लि.को धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij