२०८२ भाद्र ११ गते बुधवार
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा 'डिस्टेम्पर' रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।
महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ।
यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ। खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन्। त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन्।
स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ। कुकुरहरूमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ तर कुकुरबाट मान्छेमा भने सर्दैन। कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले व्यवस्थापन सुरू गरेको विभागले जनाएको छ।
विभागका अनुसार यदि कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध गरेको छ।
कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरहरूलाई रोगविरूद्धको खोप अनिवार्य लगाउन विभागले आग्रह गरेको छ।
महानगरले सामुदायिक कुकुरको अनियन्त्रित प्रजनन रोक्न बन्ध्याकरण प्रक्रिया पनि अघि बढाएको छ। आगामी पुस महिनासम्मा करिब छ हजार कुकुरको बन्ध्याकरण र रेबिजविरूद्धको खोप लगाइने महानगरको भनाइ छ। हाल महानगरमा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij