Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सूर्यविनायक–धुलिखेल सडक विस्तार : जाइकासँग अपेक्षा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : जाइकासँग अपेक्षा


  • 10.6K
    Shares

    सूर्यविनायक–धुलिखेल सडक विस्तार : जाइकासँग अपेक्षा

    काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ ।

     एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरी छलफल भएको छ । अहिले पनि जाइकाले सो सडकको निर्माणमा चासो देखाइरहेको बताइएको छ । अहिले जाइकाले निर्माण गर्ने तत्काल योजना नभएमा सरकार आफैँले बनाउने गरी छलफल अघि बढिरहेको सूर्यविनायक– धुलिखेल सडक योजनाले जनाएको छ ।

    जाइकासँग सम्झौता नभएका अवस्थामा सरकार आफैँले पनि निर्माण अघि बढाउन समस्या नभएको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि सो सडक विस्तारमा चासो देखाउँदै आउनुभएको छ । प्रमुख भाटले भन्नुभयो, “विगतमा धेरै छलफल भइसकेकाले अब केही निर्णय हुन सक्छ ।”

    जाइकाले सन् २०११ मा सो सडकको प्रारम्भिक अध्ययन गरेको थियो । रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः सो सडक निर्माणका लागि थप छलफल भएको थियो । उहाँकै अग्रसरमा सन् २०११ का अध्ययनका आधारमा थप अध्ययन भएको थियो । विगतदेखि अहिलेसम्म नै जाइकाले सो सडकको विस्तारमा चासो देखाउँदै आएको प्रमुख भाटले जानकारी दिनुभयो । 

    डिभिजन सडक कार्यालयले गत वर्षदेखि नै सो सडकमा निर्माणस्थल खाली गराउने काम गर्दै आएको छ । डिभिजन कार्यालयले गत वर्ष सडकमा रहेका रुख काट्ने काम गरेको थियो । कार्यालयले नै अहिले ग्राभेलकोे काम गरिरहेको छ । यी काम सडक विस्तारका लागि आवश्यक  प्रारम्भिक काम भएको प्रमुख भाटले बताउनुभयो । 

    सरकारले विगतदेखि नै सडक निर्माण जाइकाले गर्छ भन्ने अपेक्षा गरेकाले पनि अहिलेसम्म अघि नबढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उसले नबनाए हामी आफैँ बनाउने भन्ने ढङ्गबाट पनि छलफल भइरहेको छ ।”

    तीन वर्ष पहिले जाइकाले प्रारम्भिक डिजाइन पेश गरेको थियो । त्यतिबेला द्विपक्षीय सम्झौता गर्ने तय भए पनि पछि हुन सकेन । अहिले सडक विस्तार गर्न साना समस्या आउन सक्ने भए पनि ठूला समस्या नभएको प्रमुख भाटले बताउनुभयो । अधिकांश स्थानमा सडक निर्माणका लागि जग्गाको समस्या भए पनि यहाँ छैन । 

    अरु साना समस्या आएमा त्यसको सामाधान गर्दै निर्माण अघि बढाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“जाइकाले पनि चासो देखाइरहेकाले उसैसँग समन्वय गर्ने वा आफैँ गर्ने भनी योजना बनेको छैन ।” 

    जाइकासँग विगतमा कुरा हुँदा जडीबुटीमा ‘अण्डरपास’ वा फ्लाइ ओभर र सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम एकै पटक अघि बढाउने गरी छलफल भएको थियो । जाइकाले दुवै कुरामा चासो देखाएकाले धेरै पटक विभाग र मन्त्रालयसँग छलफलसमेत भइरहेको छ । अझैसम्म दुवै कुरा कसरी अघि बढाउने भनी ठोस निर्णय भने भइसकेको छैन । 

    भक्तपुर र काभ्रेपलाञ्चोक जोड्ने सो सडक अरनिको राजमार्गमा परे पनि बिपी राजमार्ग, पुष्पलाल९मध्यपहाडी० राजमार्गलगायत सडकको समेत काठमाडौँ प्रवेश गर्ने प्रवेशमार्गका रुपमा रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्ला र प्रदेश नं १ र २ का नागरिक यही सडक भएर काठमाडौँ उपत्यका आउने गरेका छन् ।

    सरकारले नयाँ राजमार्गको निर्माण र भइरहेका राजमार्गको विस्तार गरिरहँदा सो सडकमा सवारी साधनको चाप बढिरहेको छ । सडक चाप जुनसुकै समयमा भए पनि अहिले साँझका समयमा मध्यम वा लामो दूरीका सवारी साधन राजधानी भित्रने गर्दा घण्टौँ जाम हुने गरेको छ । 

    सडक छ लेन बनाउनका लागि निर्माणस्थल उपलब्ध हुने प्रमुख भाटले बताउनुभयो । सवारी चापका कारण अहिले छ लेनभन्दा पनि आठ लेनको सडक आवश्यक भइसकेको बताइएको छ । निर्माणााधीन सडक सम्पन्न भएर बाह्रबीसे नाका पुनःसञ्चालन हुँदा चाप अझै बढ्ने अनुमान गरिएको छ । रासस

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १३:५८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij