२०८२ भाद्र ७ गते शनिवार
त्यसो त राजधानीमा दैनिकजसो कृति लोकार्पण, चर्चा-परिचर्चा, मन्थन- विमर्श, रचनावाचन र टिप्पणी जस्ता साहित्यका दर्जनौँ कार्यक्रम हुने गर्छन् । तर हिजो शनिवार कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीमा पृथक खाले लेख लेखन गोष्ठीको आयोजना गरियो ।
सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था, नेपालको आयोजना तथा सुनौलो कीर्तिपुर बचत तथा ॠण सहकारी संस्था लि• एवम् क्रिएटिभ एकेडेमीको सह-आयोजनामा सुसम्पन्न उक्त गोष्ठीको मुख्य पहलकर्ता भने बाल वाङ्मय तथा अनुसन्धान केन्द्र थियो । एक दिवसीय उक्त गोष्ठीमा लेखनलाई स्थानीय जनजीवनसँग कसरी एकाकार गर्ने र स्थानीय अन्वेषणमा के सिकाउने एवम् कसरी सिकाउने भन्नेबारे सघन विमर्श भयो ।
कार्यक्रमका मूल सहजकर्ता प्रा• डा• धर्म डङ्गोलले कथनीले नभई करनीले मात्र समाजलाई सचेत पार्न तथा अनुशरण गर्न सिकाउने भएकाले लेखकहरूलाई उपदेशक नभई अनुकरणीय दृष्टान्त बन्न सुझाए । विषयवस्तुलाई अनेक उदाहरण तथा हल्का ठट्टा-मस्करीसाथ सुबोध्य ढङ्गले उनले कार्यशालालाई प्रभावकारी बनाउन भरमग्दुर कोसिस गरे । अर्का सहजकर्ता डा• श्रीकुमार महर्जनले कृषि पर्यटनका सम्भाव्यता र चुनौती साथै आर्थिक समृद्धिको मूल चाबी नै कृषि पर्यटन बन्न सक्ने जिकिर गरे । सोनिका पौडेलले बुढानीलकण्ठ नलेज पार्कको अवधारणा समाजमा लागू गर्न सके समृद्धिको सहनाई कसैले बजाइरहन नपर्ने दाबी गरिन् ।
अर्का प्रस्तोता सञ्चित ढकालले चितवनकी तुलसी ज्ञवालीको सफलताको सूत्र 'फोहोरबाट मोहोरः चारदिवारबाट समुदायतिर'बारे परिचर्चा गरे । बाल वाङ्मय अनुसन्धान केन्द्रका अध्यक्ष तथा बाल साहित्यकार अनन्त वाग्लेले बालमैत्री लेखनलाई कसरी उपयोगी र उपलब्धिमूलक बनाउने भन्नेबारे आफ्नो धारणा व्यक्त गरे । महासचिव शान्ति सापकोटाले छन्द रचना वाचन गरी सहभागीहरूलाई मन्त्रमुग्ध पारिन् । अन्तमा सहभागीलाई फरकफरक शीर्षकमा लेख लेख्न लगाएर आगामी मङ्सिरको मध्यसम्म संयुक्त बालमैत्री कृति बजारमा ल्याउने प्रतिबद्धताका साथ गोष्ठीको समापन गरियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij