२०८२ भाद्र २० गते शुक्रवार
भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ ।
११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक दुर्घटनामा परेको हो ।
मुम्बईबाट नेपालतर्फ गइरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर भ्यानमा सवार अन्य सात जना पनि घाइते भएका छन् । ट्रकको ठक्करले भ्यान नै कच्याकुचुक भएको थियो ।
मृत्यु हुनेमा तीन पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । मेहगाउँ थानाका इन्जार्ज सुरेश शर्माका अनुसार भ्यानलाई विपरीत दिशाबाट आएको ट्रक्कले ठक्कर दिएको थियो ।
‘ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । चारजनाको घटनास्थलमै मृत्यु भयो,’। साथै ठक्कर दिने ट्रकको खोजी जारी रहेको समेत उनले जानकारी दिए ।
दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृत्यु भएको छ । मृत्यु हुने काला, सुजा र टोपे एकै परिवार हुन् । कालाका अर्का छोरा प्रकाश पनि घाइते छन् ।
मृतक काला रावलका भाइ झकेन्द्र रावलका अनुसार सबैजना दैलेखको दुल्लु नगरपालिकाको खर्चगैरा टोलका हुन् । ‘ठूलो विपद् आयो, परिवारकै तीन जना गुमायो,’ रावलले भने । रावलका अनुसाार सबै जना रोजगारीका सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij