२०८२ कार्तिक १५ गते शनिवार
काठमाडौं । बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह पुगेका छन् । अहिले विप्लब सम्बोधन गरिरहेका छन्।
राष्ट्रिय सभागृह जानुअघि प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच बालुवाटारमा केहीबेर छलफल भएको थियो। उता प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठकमा संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभा दुवैतर्फका सांसद उपस्थित छन्। बैठक सुरु हुँदा दुवै तर्फका गरी १ सय १२ जना उपस्थित रहेको सांसद कृष्णभक्त पोखरेलले बताए।
‘अहिलेसम्म १ सय १२ जना आइपुग्नुभएको छ, अरु आउने क्रममै हुनुहुन्छ भने केहि बाहिरी जिल्लामै हुनुहुन्छ जस्तो योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङमा हुनुहुन्छ,’ बैठकस्थलमा रहेका पोखरेलले भने।
पार्टी विभाजनमा दुवैतर्फ प्रष्ट नखुलेकी सांसद माया ज्ञवाली पनि सो बैठकमा उपस्थित भएकी छन्। उनलाई यसअघि ओलीतर्फ खुलेको बताइएको थियो।
नेकपाले संसदीय दलको नेता चुन्दा वा हटाउँदा मतदान गर्नुपरेमा संघीय संसदका दुवै सदनका सांसदले मतदान गर्छन्।
संसदमा हुने प्रधानमन्त्री निर्वाचनमा भने प्रतिनिधि सभाका सांसदले मात्र मतदान गर्छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij