२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो। काठमाडौैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजनाले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो।
सार्वजनिक खरिद ऐन २०६३ विपरीत सीमित निर्माण कम्पनीलाई पोस्ने गरी बोलपत्र आह्वान गरेको आरोप छ। अन्तर्राष्ट्रिय बिडिङ भए पनि नेपालका दुई ठुला कम्पनी कालिका कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीलाई लाभ पुग्ने गरी ‘क्वालिफिकेसन’बनाइएको छ।
काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाअन्तर्गत सल्लाघारी, कोड्कु र धोबीघाटमा अलपत्र परेको फोहोर पानी प्रशोधन प्लान्टको अधुरो काम गर्ने प्रक्रिया अघि बढाएको हो। बोलपत्रको योग्यतामै चलखेल गरेको आशंका छ। पहिलो चरणको सूचनाअनुसार भदौ १३ गतेसम्मको म्याद थियो तर एक साता थपेर भदौ २२ गतेसम्म आवेदन दिने म्याद पु¥याइएको छ।
बोलपत्र सूचनाको योग्यतामा ठेक्कामा प्रतिस्पर्धा गर्ने कम्पनीले न्यूनतम औसतमा वार्षिक ८० मिलियन अमेरिकी डलर (१० अर्ब ५८ करोड २४ लाख रूपैयाँ) टर्नओभर गरेको हुुनुपर्ने र विगत पाँच वर्षदेखि वार्षिक ८० मिलियनबराबरकै काम गरेको हुनुपर्ने राखिएको छ।
यो ‘क्वालिफिकेसन’अनुसार वार्षिक १० अर्बभन्दा धेरै रकमको काम गर्ने नेपाली निर्माण व्यवसायी एउटा पनि छैनन्। यो योग्यतामा कुनै पनि नेपाली निर्माण कम्पनी सारभूत रूपमा योग्य देखिँदैनन्। तर यसमा रोचक पक्ष के छ भने अर्को क्वालिफिकेसनको बुँदामा भने दुईवटा कम्पनीले ज्वाइन्ट भेन्चर (जेभी) मा काम गर्ने हो भने दुईमध्ये कम्तीमा एक कम्पनीले आफ्नो मुलुकभन्दा बाहिर यस्तै प्रकृति र आकारको काम गरेको अनुभव चाहिने व्यवस्था गरिएको छ।
निर्देशनालयले यही प्रावधानमा टेकेर फोहोर पानी प्रशोधन गर्ने प्लान्टको स्पेसिफिकेसनमा चलखेल गर्न खोजेको स्पष्ट देखिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij