२०८२ भाद्र ३ गते मंगलवार
दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर एक महिलाले आत्मदाह गरेकी छन्। शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउदले आत्महत्या गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान घरमा कोही नभएका बेला उनले आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी थिइन्।
घाइते साउदलाई स्थानीयले उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याएका थिए। गोकुलेश्वरमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लैजाँदा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ। साउदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको छ। साउदले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन। मृतकको घरमा श्रीमान्, छोरा/बुहारी र नाति/नातिना छन्।
स्थानीयका अनुसार आत्मदाह गरेकी महिला सुस्त मनस्थितिकी थिइन्। आइतबार बिहान सुनाले श्रीमान्लाई टाउको दुखेको सुनाइन्। श्रीमान् औषधि लिन प्राथमिक स्वास्थ्य केन्द्र गएका थिए। त्यसै बेला उनले मट्टितेल छर्केर आत्मदाह गरेकी हुन्।
जलेपछि छटपटिएर चिच्याउँदै घरबाट दुई/तीन सय मिटर भागेको शैल्यशिखर नगरपालिका–५ का अध्यक्ष जनकसिंह डागाले बताए। ‘छिमेकी गाउँलेहरुले देखेपछि आगो निभाएर उपचारका लागि अस्पताल ल्याए,’ उनले भने, ‘तर बचाउन सकिएन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij