२०८२ भाद्र ३ गते मंगलवार
सिन्धुली । सिन्धुलीमा एक महिलाको टाउको बिनाको शव फेला परेको छ। सुनकोशी गाउँपालिका २ टुपीडाँडास्थित सुनकोशी नदी किनारमा एक महिलाको टाउको बिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका उपरीक्षक एसपी राजकुमार सिलबालले जानकारी दिए।
किनारमा महिलाको शव देखेपछि शनिबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अनुमानित ३५/४० वर्षीया महिलाको शव नदीले काभ्रेतिरबाट बगाएर ल्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
‘शवमा टाउको छैन। जिउको भाग भने छ। शरीरमा कपडाहरु पनि छन्,’ एसपी सिलवालले भने, ‘शवको सनाखत हुन सकेको छैन।’
पोष्टमार्टमपछि उक्त शव सिन्धुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले ती महिलाको हत्या भएको अथवा बाढी तर्ने क्रममा बगाउँदा मृत्यु भएको अनुमान गरेको छ।
‘हामीले सनाखतको लागि शवको हुलियासहित फोटो खिचेर प्रहरी युनिटहरुलाई जानकारी गराएका छौँ,’ एसपी सिलवालले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij