२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र त्यस पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुनर्स्थापनापछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकअघि एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन घोषणा गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनर्स्थापना गरेपछि पहिलो बैठक यही फागुन २३ गते अपराह्न ४ बजे बस्दै छ ।
त्यसअघि फागुन २१ गते सरकार र विप्लव नेकपाले संयुक्त रूपमा विशेष समारोह आयोजना गर्ने भएका हुन् । आज (बिहीबार) बिहान प्रेस विज्ञप्ति जारी गरी दुई पक्षबीच तीनबुँदे सहमति भएको संक्षिप्त जानकारी दिँदै विस्तृत विवरण त्यही दिन सार्वजनिक गरिने जानकारी गराइएको हो ।
‘सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ,’ सरकारतर्फ वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लवतर्फ वार्ता टोलीका प्रमुख प्रकाण्ड (खड्गबहादुर विश्वकर्मा) को संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट महासचिव कमरेड ‘विप्लव’ (नेत्रविक्रम चन्द)ले सम्बोधन गर्नुहुनेछ।’
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रयास गरेको, सुशासन कायम गर्न नसकेको तथा जनमतको सम्मान गर्न नसकेको लगायतका निष्कर्षसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस तयार भएको हो ।
यसबारेमा औपचारिक निर्णय लिन सभापति शेरबहादुर देउवाले आजै पदाधिकारी बैठक बोलाएका छन् भने शुक्रबार (भोलि) संसदीय दलको बैठक बस्दैछ ।
सभापति देउवानिकट एक नेताले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षसँग सहमति भइसकेको र जनता समाजवादी पार्टीसँग पनि छलफल चलिरहेको जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij