२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए पछि बामदेव गौतम यतिबेला रनाहामा परेका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको भनाई उधृत गर्दै गौतमले भने , ‘राजीनामा दिनुपर्छ भने बरु म एकतामा नै जान्नँ पो भन्नुभयो ।’
राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि आफूले त्यो कुरोलाई धेरै नचर्काएको गौतमको भनाई छ । राजीनामाको विकल्प अघि सार्दै आफूलाई ‘बरु आलोपालो प्रधानमन्त्री बन्ने प्रस्तावबमोजिम अबको एक वर्ष म नै प्रधानमन्त्री हुनुपर्छ । दोस्रो वर्षचाँहि प्रचण्डलाई छाड्न सकिन्छ । म त्यसमा असमझदारी गर्ने, धोका दिने काम अब गर्दिंन । अहिले नै कागजपत्र लेखेर, आवश्यक पर्यो भने जे जेमा सहिछाप गर्न भन्नुहुन्छ गरेर जाने हो, मिलिजुली सरकार बनाएर जाने हो, त्यसको लागि तयार छु,’ भनिएको गौतमले बताए ।
प्रधानमन्त्रीसँग आफ्नो एउटा विषयमा मतभिन्नता रहे पनि गौतमले एकताको निम्ति प्रयास भने जारी राखेको बताएका छन् । ‘तत्काल राजीनामा दिने विषयमा मेरो र उहाँको बीचमा कुरो मिलेको छैन । आफ्नो त्यति ठूलो कदम गलत सावित भैसकेपछि खुरुक्क राजीनामा दिएको भए उहाँको कद र प्रतिष्ठा माथि उठ्थ्यो तर त्यसबाट उहाँ आफूले आफैँलाई वञ्चित गराएको’ निश्कर्ष सुनाउँदै गौतमले भने , ‘संविधान, नियम, कानुन मिचेको आरोप र लागेका सबै विवादबाट मुक्त हुनको लागि पनि उहाँले राजीनामा दिनैपथ्र्यो ।’
प्रधानमन्त्रीसङ्गको भेटमा राजीनामाको रोडम्याप गौतमले यसरी सुझाएका थिए, ‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार हाउस विघटन गरेकोलाई संवैधानिक इजलासले उल्टाइदिएपछि मैले सो फैसलाको विरोध गर्न र मान्दिनँ भन्न मिलेन । यसर्थ नैतिकताको आधारमा राजीनामा दिएको हुँ भनेको भए टन्टै साफ हुने थियो ।’ त्यसैगरी, ‘पार्टीभित्र स्पेस राख्नको लागि जनताको बहुदलीय जनवादको आधारमा पनि मैले राजीनामा दिन उपयुक्त ठानेँ भनेको भए कद बढ्थ्यो तर के गर्नु आफूले बढाएर नहुने, उहाँले कद बढाउने चाहना नै नराख्ने,’ गौतमले दुःखेसो पोखे ।
पार्टीलाई एक ढिक्का बनाउने भन्दै फागुन १३ गते बिहान सातै बजे एकता अभियानका संयोजक गौतम अर्का अध्यक्ष प्रचण्डलाई भेट्न यसैगरी खुमलटार पुगेका थिए । दाहाललाई भेट्नेबित्तिक्कै भने ‘मुम्बईबाट फर्कनासाथ तपाईंले मलाई दिनुभएको वचन लागू गर्नुपर्यो कमरेड !’ गौतमको कुरो सुनेपछि दाहालले भनेका थिए ‘त्यो हुन्छ, पख्नोस् ।’
प्रचण्ड पत्नी सीताको उपचार सकेर काठमाडौं फर्केपछि अघिल्लो महिना आफूसँगको भेटमा संसद पुनस्र्थापना भए तत्काल पार्टी एकताको अपिल जारी गर्ने वचन दिएको गौतमले बताएका छन् । उनको दाबी छ ‘पुनस्र्थापना हुनासाथ पार्टी एकताको अपिल जारी गर्नुपर्छ भनेर मैले भन्दा उहाँले हुन्छ भन्ने वचन दिनुभएको थियो ।’
त्यसबखत गौतमले पुनस्र्थापना भएमा राष्ट्रपति र नभएमा न्यायाधीशहरुलाई महाअभियोग लगाउने कुरो गर्न पाइने छैन है ! भन्दा उहाँले सहमति जनाउनुभएको तर ११ गते साँझ बीबीसी नेपाली सेवालाई दिइएको अन्तर्वार्तामा त्यो कुरो पालना नभएको गौतमको आरोप छ । ‘उहाँले राष्ट्रपतिमाथि महाअभियोग लगाउने आफूहरुको कुनै मनशाय नरहेको भनेर स्पष्ट पार्नुभयो तर एकताको निम्ति अपिल गर्नुभएन,’ गौतमको आरोप छ ।
त्यहि कुरो उठाउँदै गत बिहीबार गौतमले खुमलटारमा राखेको कुरा यस्तो थियो–‘तपाईंले मसँग व्यक्त गर्नुभएको वचनको मुख्य शर्त पालना गर्नुभएन ।’ गौतमको कडा आक्रोश सुनेपछि दाहालले सम्झाउँदै भन्नुभयो ‘म व्यक्तिगत रुपमा एकता र अपिल जारी गर्न तयार छु । पहिले पनि वचन दिएकै हो । तर, मलाई के अप्ठेरो छ भने हाम्रो समूहका अरु साथीहरुलाई पनि कन्भिन्स गर्नुपर्छ । उहाँहरुले यो प्रस्ताव मान्नुहुन्छ कि मान्नुहुन्न । के गर्नुहुन्छ हेरौं न !’
दाहाल तुलनात्मक रुपमा सकारात्मक देखिएपछि गौतमले पार्टी एकता भनेको प्रचण्ड र केपीबीचको एकता हो भनेर सम्झाएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij