२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । प्रधानमन्त्री ओली समुहका दर्बिलो खम्बा अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णुप्रसाद पौडेल सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि मौन छन् । यति सम्म कि उनी सर्वोच्च अदालतको फागुन ११ को आदेशपछि कहीँ कतै पनि सार्वजनिक कार्यक्रममा देखिएकै छैनन् । फागुन ११ पछि उनको अभिब्यक्ति मिडियामा समेत आएको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि उनी के गर्दैछन् त भन्ने जिज्ञासा नेकपा पंक्तिमा छ ।
नेकपाका नेताबाहेक कार्यकर्ता पंक्ति पार्टी विभाजन नहोस् भन्ने पक्षमा छन् । नेताको स्वार्थका लागि पार्टी विभाजन हुनु नहुुने पक्षमा कार्यकर्ताको ठूलो पंक्ति छ । यिनै कार्यकर्ताको भावना अनुसार नेकपाका दोस्रो तहका नेताहरु बिष्णु पौडेल, घनश्याम भूसाल, योगेश भट्टराईहरु एकताको खोजीमा छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि एकताको पक्षमा छन् ।
प्रधानमन्त्री केपी ओली समूहका पौडेल र गुरुङ, प्रचण्ड–नेपाल समूहका भूसाल, भट्टराईहरु पार्टी विभाजन हुन नदिने उपायको खोजीमा लागेका छन् । तर पार्टी एकताका लागि प्रधानमन्त्री ओली नै तयार हुनुपर्छ । अरुले चाहेर एकता संभव छैन । प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने अडानमा रहेका छन् । प्रचण्ड–नेपाल समूह राजीनामालाई नै बटमलाइन बनाइरहेको छ । यस्तो अवस्थामा एकताको लागि लागेका महासचिव पौडेलहरुको प्रयासले सार्थकता पाउने अवस्था देखिंदैन ।
महासचिव पौडेल प्रतिनिधिसभा बिघटन गर्नु नहुने पक्षमा थिए । तर पौडेलसहित आफ्नो समूहका कसैको पनि कुरा नसुनी प्रधानमन्त्री ओलीले बिघटन गरेपछि नेकपा कानुनी रुपमा एक भए पनि ब्यवहारतः दुई फ्याक भयो । प्रतिनिधिसभा पुनस्र्थापनापछि राजनीतिक गाँठो फुक्ने अपेक्षा गरिए पनि झन् जेलिएको छ । न एकता न त विभाजन हुने अबस्थामा पुगेको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij