Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ओलीलाई हटाउन यसरी हुँदैछ झन् मुस्किल,अदालतले ‘ब्रेक’ गर्दिए पछि ओली किन गर्दैछन् आनन्द ‘फिल’

ओलीलाई हटाउन यसरी हुँदैछ झन् मुस्किल,अदालतले ‘ब्रेक’ गर्दिए पछि ओली किन गर्दैछन् आनन्द ‘फिल’


  • 5.2K
    Shares

    ओलीलाई हटाउन यसरी हुँदैछ झन् मुस्किल,अदालतले ‘ब्रेक’ गर्दिए पछि ओली किन गर्दैछन् आनन्द ‘फिल’
    images

    काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने कदम सर्वोच्च अदालतले उल्टाईदिए पछि  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विपक्षीहरूको बुझाइ थियो । सर्वोच्चको आदेशलगत्तै ओलीको विरुद्धमा उभिएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले त तत्काल राजीनामा दिन माग नै गरेका थिए । तर प्रधानमन्त्री ओलीले राजीनामा नदिने मात्रै होइन सबै परिस्थितिको डटेर सामना गर्ने बताउँदै आएका छन् ।

    ‘प्रधानमन्त्रीबाट राजीनामा नदिने बरु संसद फेस गर्ने’ बताएका प्रधानमन्त्री ओली विपक्षीभन्दा राजनीतिक रूपमा निश्चिन्त देखिन्छन् । प्रधानमन्त्रीको यस्तो ‘कन्फिडेन्ट’ पछाडिको कारण के होला ?

    नेकपा संसदीय दलमा बहुमत पुर्‍याउने प्रधानमन्त्रीको प्रयास जारी नै छ । तर आफूविरुद्धका सबै परिस्थितिको सामना गर्ने ‘कन्फिडेन्ट’ का पछाडि संवैधानिक प्रावधानहरू नै मुख्य सहयोगी रहेको बुझ्न कठिन छैन ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले ‘संसदीय मूल्यमान्यता र हाम्रो आफ्नै अनुभव’ लाई आधार मानेका थिए । तर नेपालकै संसदीय अभ्यासमा संसद विघटन सिफारिश गर्ने प्रधानमन्त्रीले सँगै राजीनामा बुझाउने प्रचलन ओलीले मानेनन् । बरु मनमोहन अधिकारीको उदाहरण दिए ।

    प्रतिनिधिसभा विघटनको सिफारिससँगै राजीनामा नबुझाउने प्रधानमन्त्री ओलीको निर्णय सुझबुझपूर्ण थियो भन्ने अहिले प्रमाणित हुँदै गएको छ । किनकि राजीनामा दिंदा बाहेक सरल ढंगले सत्ता छाड्नुपर्ने अवस्था बनिसकेको छैन ।

    प्रधानमन्त्री पदमुक्त हुने संवैधानिक बाटो

    नेपालको संविधानको धारा ७७ मा प्रधानमन्त्री पदमुक्त हुने सम्बन्धी प्रावधान रहेका छन् । धारा ७७ अनुसार राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, प्रतिनिधिसभाको सदस्य नरहेमा वा मृत्यु भएमा प्रधानमन्त्री पद रिक्त रहनेछ ।

    त्यस्तै धारा १०० बमोजिमको विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री पद रिक्त रहनेछ । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न चाहेको छ । संवैधानिक दृष्टिले त्यसका लागि संविधानको धारा १०० को भर पर्नुपर्ने हुन्छ ।

    धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था छ । सो धाराको व्यवस्था अनुसार प्रधानमन्त्रीले आफूलाई उपयुक्त लागेको समयमा संसदमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्न सक्नेछन् ।

    त्यस्तै प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएको वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित नभएमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था धारा १०० को दफा ३ मा उल्लेख छ ।

    दफा ४ मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्नसक्ने उल्लेख छ । त्यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री पदमुक्त हुनेछन् ।

    ओली हटाउन किन अप्ठ्यारो ?

    प्रतिनिधिसभा विघटन घोषणा भएकै दिन नेकपा प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ओलीलाई पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर दलको नेताबाट हटाउने विकल्प छाडेर प्रचण्ड-माधव पक्षले रोजेको यो बाटो अहिले उनीहरूकै लागि ‘गलपासो’ बनेको छ ।

    किनकि संसदको रेकर्डमा प्रधानमन्त्री ओली अझै नेकपा संसदीय दलको नेता रहेका छन् । संसदीय दलको नेताकै हैसियतमा ओलीले फागुन १४ गते नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

    प्रचण्ड-माधव पक्षले गत पुस ८ गते संसदीय दलको बैठकबाट संसदीय दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता बनाइएको घोषणा गरेको थियो । यद्यपि संसदको रेकर्डमा प्रधानमन्त्री ओली नै हालसम्म नेकपा संसदीय दलको नेता छन् ।

    प्रतिनिधिसभामा संसदीय दलको नेताका रूपमा ओलीले ह्वीप जारी गर्न सक्छन् । ह्वीप उल्लंघन गर्ने सांसदलाई निलम्बन गर्न पनि सक्छन् । यस्तो अवस्थामा संसदीय दलको नेताबाट ओलीलाई हटाएको वैधानिकता पुष्टि नगरेसम्म संसदमा अविश्वास प्रस्ताव अगाडि बढाउन प्रचण्ड-माधव पक्षलाई समस्या पर्ने देखिन्छ ।

    वरिष्ठ अधिवक्ता सुनील पोखरेलका अुनसार संसदीय दलको नेताबाट ओलीलाई हटायौं भनेर पुग्दैन । संसदको रेकर्डमा ओली नेकपा संसदीय दलको नेता नरहेको प्रमाणित गरेपछि मात्रै ह्वीप वा निलम्बनको समस्या टर्छ । संवैधानिक दृष्टिले पहिले ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएर मात्रै अश्विास प्रस्तावको चरणमा पुग्नुपर्ने हुन्छ ।

    पोखरेलका अनुसार संसदीय दलको नेता नरहे पनि ओली प्रधानमन्त्रीबाट पदमुक्त हुँदैनन् । ‘प्रधानमन्त्री बन्न दलको नेता हुनुपर्नेछ तर प्रधानमन्त्री भइसकेको व्यक्ति दलको नेता नरहे पदमुक्त हुने व्यवस्था संविधानमा छैन । त्यसैले ओलीलाई पदमुक्त गर्न चाहनेले पहिले संसदीय दलमै बहुमत पुर्‍याउनु संवैधानिक दृष्टिले सहज देखिन्छ’, पोखरेलले नेपाल प्रेससँग भने ।

    नेकपा संसदीय दलमा दुवै पक्षले बहुमत रहेको दाबी गर्दै आएका छन् ।

    प्रधानमन्त्री हटाउन अप्ठ्यारो छैन- श्रेष्ठ

    अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भने प्रधानमन्त्रीलाई पदमुक्त गराउन संवैधानिक जटिलता नरहेको बताउँछन् । संसदबाट अविश्वासको प्रस्तावका पक्षमा बहुमत जुटाउने बाहेक कुनै जटिलता नरहेको श्रेष्ठको भनाइ छ ।

    ‘धारा १०० अनुसार अविश्वास प्रस्तावको पक्षमा बहुमत जुटाउनुपर्‍यो । त्यस्तो बहुमत नेकपा वा कांग्रेसले पार्टीगत रूपमा जुटाउने होइन संसदले जुटाउने हो । प्रतिनिधिसभाका सदस्यहरूले जुटाउने हो’, श्रेष्ठले  भने ।

    प्रधानमन्त्रीलाई पदमुक्त गराउन गाह्रो छ भन्नु गलत हुने भन्दै श्रेष्ठले संविधानले सबै कुराको विकल्प दिएको बताए । अविश्वास प्रस्ताव यो वा त्यो पार्टीको नहुने भन्दै श्रेष्ठले २५ प्रतिशत सांसदहरूले ल्याउन सक्ने प्रस्ताव भएकोले संविधानले प्रधानमन्त्री हटाउनेबारे स्पष्ट व्यवस्था गरेको बताए ।

    ‘संविधानमा व्यवस्था स्पष्ट छ तर कुन व्यवस्था प्रयोग गर्ने भन्ने राजनीतिक दल वा नेताको छनोटको विषय हो’, श्रेष्ठले भने ।

    नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अझ फरक ढंगले बहस अघि बढाएका छन् । उनका अनुसार यदि प्रचण्ड–माधव पक्षले पुस ५ मा दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लियो भने अब एक वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनै पाइँदैन ।

    संसद सचिवालयमा दर्ता भइसकेको प्रस्ताव प्रचण्ड-माधव पक्षले फिर्ता लियौं भन्दैमा फिर्ता नहुने र त्यो संसदीय प्रक्रियामा जाने जिकिर पोखरेलको छ । संसदको पूर्ण बैठकमा सभामुखले पेश गरेपछि मात्र फिर्ता लिने वा मतदानमा जाने विकल्प आउने पोखरेलको दाबी छ ।

    पोखरेलले भने, ‘प्रतिनिधिसभा विघटनपछि दर्ता भएको भनिए पनि सचिवालयमा दर्ता भइसकेको प्रस्ताव रितपूर्वक फुल हाउसमै गएर फिर्ता लिनुपर्छ । प्रस्तावकले फिर्ता लिए भने अहिलेको संविधान बमोजिम एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । त्यसैले यो प्रक्रिया अझ जटिल बन्दै जानेछ ।’

    नेकपाको कानूनी विभाजन चाँडो टुंगो लगाउने वा ओलीलाई संसदीय दलको नेताबाट प्रक्रियासम्मत ढंगले हटाउने बाहेक अन्य विकल्पमा जाँदा प्रचण्ड-माधव पक्षलाई जोखिम हुने तर्क संविधानविद्हरूको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १२:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij