२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित ३ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। संघीय संसद्को अवरोध खुलाउने विषयमा शीर्ष नेताहरुबीच पुन: बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा नेकपा एमालेका सचेतक समेत सहभागी छन्।
तस्करीको १ क्विन्टल सुन बरामद भएपछि छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का बैठकमा अवरोध पुर्याउँदै आएको छ। एमालेको अवरोधका कारण सोमबार बसेको राष्ट्रिय सभा बैठक स्थगित भएको थियो।
प्रतिनिधि सभाको बैठक भने साउन १० गतेयता बस्न सकेको छैन। प्रतिनिधि सभाको साउन १० गतेको बैठकमा एमालेले समिति गठनको माग गर्दै अवरोध गरेको थियो। एमालेको अवरोधपछि साउन १५ गतेसम्मलाई स्थगित भएको बैठक त्यसपछि भने बस्दै नबसी स्थगित हुँदै आएको छ।
प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सोमबार सभामुख घिमिरेसहित प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक सिंहदरबार र संघीय संसद् भवन बानेश्वरमा बसेको थियो। तर बैठकमा सदन सञ्चालनबारे कुनै सहमति जुट्न सकेन।
सुन तस्करी प्रकरणको अनुसन्धानमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरे पनि सरकारले भने अपराध अनुसन्धानका लागि स्थापित नियकाबाटै अनुसन्धान हुने बताउँदै आएको छ। यसअघि पनि सुन तस्करी प्रकरण लगायतका अपराध अनुसन्धानमा उच्चस्तरीय समिति बनेको, तर त्यस्ता समितिको अनुसन्धानले प्रतिफल दिन नसकेकाले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने सरकार पक्षको दाबी छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको झन्डै १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।
तस्करी प्रकरणमा राजस्व विभागले नै सुरुवाती अनुसन्धान गरेकोमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गर्न थालेको छ। सीआईबीले अन्तरदेशीय तथा संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको छ। राजस्व अनुसन्धान विभागले सीआईबीलाई अनुसन्धानको फाइल पनि हस्तान्तरण गरिसकेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij