२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन् ।
मंगलबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोली गरिएको बताउँदै विप्लव समूहसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे । “वार्ता टोली बनिसकेपछि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेछ भन्ने हामी विश्वास गर्दछौं”, उनले भने ।
उनले शान्ति प्रक्रियामा ल्याउने काममा सरकारले स्पष्ट दृष्टिकोण राखेको बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले विप्लव समूहको प्रतिबन्ध, मुद्दालगायतको सबै विषय वार्ताद्वारा नै टुंगो लाग्ने पनि बताए ।
विप्लव समूह स्रोतले भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने स्रोतले बतायो ।
यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij