२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । प्रचण्ड र माधव नेपालले हाँकिरहेको नेकपालाई आधिकारिकता दिन निर्वाचन आयोगका अधिकारीहरु राजी भएको सो पार्टीका नेताहरुले सामुहिक दाबी गरेका छन्।
नेकपा (बहुमत) निकट नेताहरुसँगको अनौपचारिक भेटघाटमा निर्वाचन आयोगका पदाधिकारीहरुले बहुमत पक्षलाई पार्टीको आधिकारिकता दिने कुरो ढुक्कसँग बताउँदै आएका हुन् । माधव नेपालका केही मान्छेहरु सँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नै उक्त कुरा बताएका हुन्। हालै भेट गरेका एकजना नेताले थपलियाको भनाई उद्धृत गर्दै भनेका छन् ‘पार्टी फुटाउन यो हातले कसरी सही गर्नु !’
थपलियाको उक्त भनाईबाट पार्टी फुटाउन बालुवाटारबाट आयोगमा कतिसम्म दबाब परेको छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । तर,अर्को पक्षलाई तिनै प्रमुखले ‘बहुमतलाई दिने कुरा हो, हाम्रो निर्णयले पनि विधि र प्रक्रिया त पूरा गर्नुपर्यो’ भनी टार्दै आएका छन् ।
आधिकारिकताको विषयमा हिजो आयोग पुगेका स्थायी समिति सदस्य लीलामणि पोखरेललाई तपाईंहरुको तर्फबाट दाबी पेश गर्नुहोला भनिएको थियो । सोहीबमोजिम पोखरेलहरुले हिजो दिउँसो कागजात पेश गर्न जाँदा विभिन्न कागजात नमिलेकोले पुनः मिलाएर पेश गर्न भनिएको स्रोतको दाबी छ ।
आयोग नेतृत्वको उक्त रणनीति आधिकारिकताको विषयलाई अनिर्णित तवरले लम्बाउने रहेको प्रष्ट भएको छ । सारमा आयोगले फागुन २० गते हुने भनिएको ऋषि कट्टेलको नेकपाको नामसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई कुरेको बताइन्छ ।
सर्वोच्चले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा टण्टै साफ हुने मानसिकतामा निर्णयलाई आयोगले अल्झाएको स्रोतले दाबी गरेको छ । र निर्वाचन आयोग त्यसपछि मात्र आफ्नो निर्णय सुनाउने दाउमा छ। हुन त थपलिया प्रधानमन्त्री ओली निकटका व्यक्ति हुन। माधवका मान्छेलाई आधिकारिकता दिने भनेर मख्ख पार्दै उनीहरुलाई अल्झाएर ओली का पक्षमा थपलियाले निर्णय सुनाउने सम्भावना पनि उत्तिकै छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij