२०८२ माघ ७ गते बुधवार
काठमाडौं महानगरले सामाखुशी खोलामाथिको प्रहरी बिट खाली गराएको छ।
काठमाडौं महानगरपालिका-२६ स्थित खोलामाथि बनेको प्रहरी बिट शुक्रबार खाली गरिएको वडाध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए।
प्रहरी बिट खाली गरिएपनि संरचना भने हटाइएको छैन।
त्यहाँको प्रहरी बिट नजिकै रहेको आशिष चर्चमा सारिएको छ। अन्य व्यवस्था नहुन्जेल प्रहरी बिट चर्चकै भवनमा रहने वडाध्यक्ष तिवारीले जानकारी दिए। बिटमा ६/७ जना प्रहरी बस्छन्। काठमाडौं महानगरपालिकाले सामाखुशी खोलालाई पूर्ववत् अवस्थामा फर्काउन असारदेखि स्ल्याब हटाउन सुरू गरेको थियो।
वडा नम्बर ३ र २६ मा भने केही दिनअघि मात्रै स्ल्याब हटाइएको हो। स्ल्याबमाथि नै प्रहरी बिट रहेकाले त्यसलाई पनि हटाउन लागिएको वडाध्यक्ष तिवारीले बताए। खोलामाथिको स्ल्याब हटाइएपछि त्यस क्षेत्रलाई सुरक्षित बनाउन खोलाको दुई साइडमा वाल उठाउने र बार लगाउने काम चाँडै नै सुरू हुने उनले बताए।
स्ल्याब हटाइएपछि ह्वाङ्गै छोडिएका कारण त्यस क्षेत्रमा दुर्घटना र मानवीय क्षतिको जोखिम बढेको छ।
महानगरले खोलाकै छेउमा बनेका घरहरू पनि भत्काउने तयारी गरेको छ। त्यसका लागि सरोकारवाला निकाय र व्यक्तिहरूसँग लगातार छलफल भइरहेको वडाध्यक्ष तिवारीले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij