२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ। महानगरको राजस्व विभागले एक सूचना जारी गर्दै तोकिएको समयमा कर बुझाउन तथा छुट सुविधा लिन अनुरोध गरेको हो।
बुझाउनपर्ने सम्पत्ति कर–बहाल कर–व्यवसाय करमा दिएको छुट सुविधा लिन महानगरले आग्रह गरेको हो। सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ।
यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर पुस मसान्तभित्र चुक्ता गरे थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ।
व्यावसायिक रूपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ।
‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था छ।
चालु आर्थिक वर्ष २०८०र८१ करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुने जनाइएको छ।
तर यसमा काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij