२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिका भित्र रहेका दई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । महानगरपालिकाको सहकारी विभागले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका दई सहकारी संस्थाको दर्ता खारेजी गरेका जनाएको हो ।
महानगरको सहकारी विभागका अनुसार काठमाडौँ–५ चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरुको दर्ता खारेजी गरिएको हो । उक्त ऐनका अनुसार ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।यी दुवै सहकारी संस्थाहरुले भिन्न भिन्न मितिमा महानगरपालिका समक्ष खारेजी स्वीकृतिका लागि निवेदन पेस गरेका थिए।
कुनै पनि सहकारी संस्थाले आफ्नो उद्देश्य हासिल गर्न सम्भव नभएमा वा सदस्यको हित गर्न नसक्ने भएका साधारण सभाको तत्काल कायम रहेको दुई तिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको विघटन गर्न निर्णय गरी दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिन सक्ने कानुनी व्यवस्था छ।
महानगरपालिकाले यी संस्थाको विनियम बमोजिम संचालन नभएकाले दर्ता खारेजी गरिएको जनाएको छ। ‘उक्त संस्थाले तिर्नुपर्ने दायित्त्व र उठाउनुपर्ने ऋण सहित बक्यौता केही भएमा तथा यी संस्थाहरूबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरूमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले यसै सूचनालाई आधार मानी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ’ महागरले प्रकाशित सूचनामा भनेको छ, ‘अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने व्यहोरा जानकारी गराइन्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij