२०८२ भाद्र ५ गते बिहिवार
गोरखा । गोरखाका मेयर स्वकीय सचिव अनिष अर्यालको करार म्यादथप नगर्ने बिषयलाई लिएर गोरखा नगरपालिकामा जारी विवाद समाधान भएको छ । अर्यालले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरेपछि विवाद समाधान भएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बताए ।
विवाद समाधानका लागि शुक्रवार उच्चस्तरीय वार्ता टोलीको छलफल भएको थियो । वार्ताले दुईबुँदे सहमति गरेको पुनले बताए । नगर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्कामाथि गरेको अभद्र व्यवहारप्रति अर्यालले आत्मालोचना गर्ने र आगामि दिनमा यस्ता गल्ती नदोहोर्याउने सहमति भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै,नगर कार्यपालिकाको बैठकमा केही कर्मचारीले आफ्नो क्षेत्राधिकार नाघेर नियम विपरित काम गरेको भन्ने बिषयमा आवश्यक छानविन गर्ने र दोषी ठहर भएमा कारवाही प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ ।
विवाद टुंगिएसँगै शनिवार नगर कार्यपालिका बैठक समेत सुचारु भएको छ । स्वीकय सचिवको विवादकै कारण यसअघि बैठक बसेपनि एजेण्डामा प्रवेश नै नगरी स्थगित हुदै आएको थियो । शनिवारको बैठकमा बिभिन्न एजेण्डामा छलफल र निर्णयसमेत भएको थियो ।
कार्यपालिका बैठकले आगामि असार १० गते नगरसभा गर्ने निर्णय गरेको छ । त्यसअघि वडाहरुबाट योजना तर्जुमा गरी पठाउन मार्गदर्शन स्वीकृत गर्ने पनि निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पुनले जानकारी दिए । त्यस्तै शनिबारको कार्यपालिका बैठकले असार ५ गते विज्ञहरुको भेला आयोजना गर्ने पनि निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij