२०८२ भाद्र ८ गते आइतवार
विराटनगर । मोरङको पथरीका तात्कालिन गाउँ विकास समितिका पूर्व अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । ६६ वर्षीय राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
पीसीआर परीक्षण गराउँदा पथरीशनिश्चरे नगरपालिका–१ निवासी राईको रिपोर्ट कात्तिक २१ पोजिटिभ आएको थियो । त्यसपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि राखेर उपचार गरिदै आएको थियो।
२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई पछिल्लो समय सामाजिक गतिविधीमा सक्रिय थिए। सामाजिक काममा लोकप्रियता हाँसिल गरिरहेका उनी हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष हुन् ।
पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका उनले दर्जनौं संघ संस्थाको नेतृत्व गरिरहेका थिए। राईका एक श्रीमती, चार छोरी र दुुई छोरा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij