२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ ।
आज बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञाशा राखेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता दाहालले सरकारले सङ्घीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताएको सांसद माधव सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । “प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताए”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सापकोटाले भने ।
संसदीय दलको बैठकपछि दलको कार्यालयमा बजेटसम्बन्धी अभिमुखीकरण भइरहेको छ । अभिमखुीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र सदस्य डा रामकुमार फुयाँलले सहजीकरण गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij