२०८२ भाद्र ४ गते बुधवार
गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६ औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिए ।
गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जाराले बताए ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए । ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ’, अध्यक्ष बन्जराले भने, ‘सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ ।’
गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ । त्यस्तै नेपालभर भिमसेनथापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई ५० हजार उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij