२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनर्निर्माण सुरु भएको छ ।
नदीको दायाँबायाँ गरी करिब ६ किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिसँगै त्यहाँ रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण देवालय पुनर्निर्माण सुरु गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । एसियाली विकास बैंकको एक अर्ब २८ करोड रुपैयाँ ऋण सहयोगमा नदीको दायाँबायाँ सौन्दर्य अभिवृद्धिसँगै देवालय पुनर्निर्माण पनि सुरु गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए ।
यो बजेटबाट गोकर्णेश्वर नगरपालिका ४ स्थित उत्तरवाहिनी क्षेत्रको करिब २०० मिटर नदी किनारका पुरातात्त्विक महत्त्वका सत्तल पुनर्निर्माण र सौन्दर्य अभिवृद्धि गरिनेछ । समितिले गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको करिब सात किमिमा पनि नदी सौन्दर्य अभिवृद्धिको काम गरिरहेको छ । मुआब्जा विवादका कारण रोकिएको काम आजैदेखि पुनः गर्न आइतबार सरोकार भएका निकायबीच सहमति भएको छ ।
गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको सौन्दर्य अभिवृद्धिको काम एक अर्ब ९० करोड रुपैयाँमा भइरहेको छ । मुआब्जा विवादका कारण करिब एक वर्षदेखि रोकिएको कामको हालसम्म ७६ प्रतिशत भौतिक र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । आगामी पुसमा म्याद सकिने भएपछि एक वर्ष थप गर्न समितिले सहरी विकास मन्त्रालयमा पत्राचारसमेत गरेको छ ।
सिनामङ्गलबाट थापाथली पुलसम्मको नदी किनारमा भने सुकुम्बासी बस्ती रहेकाले सौन्दर्य अभिवृद्धिको काम अघि बढाउन नसकिएको सूचना अधिकारी अर्यालले बताए । समितिले वाग्मती नदी किनारमा रहेका सार्वजनिक जग्गालगायत सम्पत्तिसम्बन्धी कार्यविधिको मस्यौदा निर्माणसमेत सुरु गरेको जनाएको छ । तीन महिनाभित्रमा कार्यविधि जारी हुने गरी काम भइरहेको छ । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij