२०८२ भाद्र ३ गते मंगलवार
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
‘वैशाख १ देखि ७ सम्म प्रत्येक वडामा दुईजना स्वयंसेवक पठाएर मतदाता शिक्षा सम्पन्न भएको छ । मतदान स्थलमा मतदान सामग्री पुगिसकेका छन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत पुगिसकेका छन् । आजबाट मदिरा बिक्रीवितरण र हातहतियार बोकेर हिँड्न नपाइने सूचना टाँस भइसकेको छ । आज र भोलि सर्वपक्षीय बैठक राखेर निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउने काम हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले भने ।
सामाजिक सञ्जालमा पनि निर्वाचन आयोगले निगरानी बढाएको अर्यालले बताए । उनले थपे, ‘सामाजिक सञ्जालमा कसैको पक्षमा मत माग्दै पोस्ट गर्ने, लाइक र कमेन्ट गर्न पाइँदैन । बैठक, आमसभा, कोणसभा, अन्तर्क्रिया र छलफल गर्न पाइँदैन । सामाजिक सञ्जालमा अनेपक्षित गतिविधि गर्न हुँदैन । नागरिकको चेतनास्तर बढेकाले पनि त्यस्ता गतिविधि हुँदैनन् भन्ने अपेक्षा छ ।’
तीनवटै क्षेत्रको उपनिर्वाचनका कारण सरकारलाई वैशाख १० गते सार्वजनिक बिदा दिन माग गरेको पनि उनले बताए । सहप्रवक्ता अर्यालले भने, ‘यातायातलाई व्यवस्थित गर्न र शान्ति सुरक्षाका लागि पनि सार्वजनिक बिदा आवश्यक हुन्छ । हामीले तीनवटै तहका सरकारलाई बिदाका लागि अनुरोध गरेका छौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij