निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको मातृ कम्पनी ‘आजियाटा’ को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जब्बोर कायुमोभ नियुक्त भएका छन् । हालै सम्पन्न आजियाटाको बोर्ड बैठकले कायुमोभलाई सीईओमा नियुक्त गरेको हो ।
योसँगै कम्पनीले यसअघिका सिइओ एन्डी चोङलाई बढुवा गर्दै मुख्य कम्पनी आजियाटामा नै फिर्ता बोलाएको छ । आजियाटाको मुख्यालय मलेसियाको राजधानी क्वालालम्पुर रहेको छ ।
उनले टेलिया र भिम्पेलकम जस्ता दूरसंचार संस्थाहरूमा सीईओको रूपमा समेत काम गरिसकेका छन् । उनी यसअघि डिजिसेल जमैकामा सीईओको रुपमा कार्यरत थिए । गत १६ जनवरीमा उनले डिजिसेल छाडेका थिए ।
कयुमोभ जुन २०१८ मा डिजिसेल ट्रिनिडाड एण्ड टोबागोको सीईओको रूपमा डिजिसेलमा सामेल भएका थिए । त्यहाँ उनको साढे दुई वर्ष बिताए भने डिजिसेल जमैकाको सीईओको रूपमा दुई भन्दा बढी वर्षको कार्यकाल पुरा गरे । उनीसँग दूरसञ्चार उद्योगमा वरिष्ठ तहमा रहेर काम गरेको लामो अनुभव छ ।
एनसेलबाट बढुवासहित विदा हुन लागेका एन्डीले भने ६ वर्ष एनसेलको व्यवस्थापनमा रहेर काम गरेका थिए । सुरुमा एनसेलको चिफ कमर्सियल अफिसरको रूपमा आएका उनी २०१९मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका थिए ।
नेपालमा गरेको पर्फर्मेन्सको आधारमा एन्डी एजियटाको ११ वटा कम्पनी हेर्ने ग्रुपको मुख्यालयमा मुख्य कर्पोरेट अफिसरमा रुपमा नियुक्त भएका छन् । ससँगै अब उनले आजियाटा ग्रुपमा ठूलो भूमिका ग्रहण गर्नेछन् ।
एन्डी नेपाल आएपछि पूँजीगत लाभकरको मुद्दा किनारा लागेको थियो भने उनकै पालामा एनसेलको कभरेज ९० प्रतिशत नाघेको कम्पनीको दाबी छ । डाटा सेन्टरको स्थापनासहित कम्पनीको डिजिटाइजेसनको काम पनि एन्डीकै कार्यकालमा भएका छन् ।कम्पनीले सीईओ बदलिएकोबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।