२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौँ नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो।
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।
काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौँबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।
काठमाडौँबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगन्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । यो भाडादर आजैदेखि लागू हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij