२०८२ भाद्र १६ गते सोमवार
बहुआयामिक स्रष्टा लुमडी आचार्यको समीक्षासङ्ग्रह 'विचरण र अनुभूतिको एक कार्यक्रमबीच हिजो शनिवार राजधानीमा लोकार्पण तथा परिचर्चा गरियो । समीक्षात्मक टिप्पणीका सिलसिलामा समीक्षक डा• श्रीराम खनालले कृति अत्यन्तै बोधगम्य र सुललित भएको दाबी गरे । 'चर्चित स्रष्टाका कृतिलाई समीक्षा गरी तयार पारिएको यो सँगालोको सबैभन्दा सबल पक्ष भनेको यसको सरलता र सकारात्मक दिशानिर्देश नै हो ।' उनको कथन थियो ।
'बहुविधाका कृतिका रौँचिरा केलाइएको यो सङ्ग्रहमा समीक्षकले नकारात्मक पाटापक्षप्रति पूर्णतः आँखा चिम्लेको अनुभूति हुन्छ,' उनको अभिमत थियो । प्रमुख अतिथिको आसनबाट तारकेश्वर न•पा•, उपप्रमुख सिर्जना बुर्लाकोटीले साहित्यप्रति आफ्नो गहिरो लगाब रहेको खुलासा गरिन् । आफूले लुमडी आचार्य जस्ता बहुआयामिक सर्जकलाई समेत चिन्न नसक्नु लज्जास्पद भएको स्विकारिन् । कला, साहित्य र संस्कृतिको विकास हुनु नै सभ्यताको परिचायक हुने राय व्यक्त गर्दै उनले आफ्नो कार्यकालमा साहित्य उन्नयनमा भरिसक्के समर्पित हुने प्रतिबद्धता व्यक्त गरिन् । मुक्तक मञ्च काठमाडौँका अध्यक्ष तथा त्रिशूली वाङ्मयका महासचिव राजेन्द्र घिमिरे 'सागर'ले समीक्षासङ्ग्रहमा आफ्नो कृतिसमेत समाविष्ट भएकामा सन्तोष व्यक्त गर्दै आचार्य आफ्नो लेखनमा प्रेरणास्रोत भएको बताए । सिर्जना-गर्भका आफ्नो सङ्क्षिप्त मन्तव्य राख्दै कृतिकार लुमडी आचार्यले आफ्ना जीवनका अगणित ऊहापोह तथा कृति प्रकाशनको अभीष्टबारे प्रकाश पारे । आफ्नो कृतिको ध्येयसँग मेलखाने लेखनाथ पौड्यालका केही काव्यिक हरफहरू पनि उनले कण्ठाग्र वाचन गरे ।
कार्यक्रमका सभापति एवम् गोलढुङ्गा साहित्य परिषद्का अध्यक्ष देवेन्द्र अर्याल 'आँसु'ले कार्यक्रममा आएर शोभा बढाइदिनुहुने उपप्रमुखलगायत सबै आगन्तुकप्रति आभार प्रकट गरे । गोलढुङ्गा साहित्य परिषद्ले गर्दै आएका साहित्यिक गतिविधि र भावी योजनाबारे अवगत गराउँदै लुमडी आचार्यको व्यक्तित्व र कृतित्वबारे सङ्क्षेपमा प्रकाश पारे । तारकेश्वर न•पा•ले आगामी दिनमा एउटा व्यवस्थित पुस्तकालय निर्माण गर्नुपर्ने खाँचो औल्याउँदै कार्यक्रमको बिट मारे । माधव घिमिरे 'अटल'ले सहजीकरण गरेको सो कार्यक्रममा गोलढुङ्गा साहित्य परिषद्का सदस्य सूर्यबहादुर श्रेष्ठले आगन्तुक अतिथिहरूको स्वागत् गरेका थिए । कार्यक्रममा त्रिशूली वाङ्मयका उपाध्यक्ष तथा उम्दा नियात्राकार राजेन्द्रमान डङ्गोल, सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल, धरहरा अभियन्ता ध्रुव गजुरेललगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij