२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एकीकृत समाजवादीले सरकारमा सहभागिताका लागि उपप्रधानमन्त्रीसहित रोजाइको मन्त्रालय र कम्तीमा एउटा मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ। यसबाहेक १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रमध्ये एउटा आफ्नो दलले पाउने गरी छलफल गरिनुपर्ने समाजवादीको माग छ।
सत्ता समिकरणका ठुला दलहरुले शक्ति बाँडफाँट गरिसकेकाले अबको शक्ति बाँडफाँटमा मन्त्रालय रोज्ने आफ्नो पालो आएको एकीकृत समाजवादीको दाबी छ। आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित रोजाइको मन्त्रालय र कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री पाउँदा मात्र सम्मानजनक शक्ति बाँडफाँट हुने समाजवादीले तर्क गरेको छ।
सत्तारूढ गठबन्धनभित्र कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, रास्वपाले उपसभामुख र जसपाले उपराष्ट्रपति पद लिएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यही सेरोफेरोमा केन्द्रित रहेर शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ घन्टा छलफल गरेको बताएका छन्।
अध्यक्ष नेपालले पनि शुक्रबारको भेटवार्तामा आफूले केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि गठबन्धन नछाडेको स्मरण गराउँदै उपप्रधानसहित गृह मन्त्रालय र अरू दुईवटा मन्त्रालय पाउनुपर्ने माग गरेका छन्। त्यस्तै, बागमती र प्रदेश १ मध्ये कुनै एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने प्रस्तावसमेत राखेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij