२०८२ भाद्र १० गते मंगलवार
एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले इन्डोनेसियन ब्रान्ड जेसिस्ट्सको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो इलेक्ट्रिक स्कुटरको सार्वजनिक गरेका हुन् ।
कम्पनीका अनुसार रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध भएको यस स्कुटरमा ५ किलोवाटको मोटर जडान गरिएको छ । यसलाई नेपालमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर मान्न सकिनेछ ।
सो इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट, २० एएचको लिथियम आयोन ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ९० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । ब्याट्रीमा ३ वर्षको ग्यारेन्टी उपलब्ध गराइने छ र यसलाई चार्ज गर्न १.३ युनिट विद्युत खपत हुन्छ ।
साथै २ हजार वाट रेट भएको पावर आउटपुट रहेको यस स्कुटरमा ५ हजार वाट पिक पावर, ६.७ हर्स पावर, अधिकतम ३० एनएमको टर्क र ७६ किलोमिटरको अधिकतम गतिको फिचर पनि उपलब्ध छन् ।
राइडर र यात्रुका लागि गुणस्तरीय र आरामदायी सिट उपलब्ध रहेको यस इलेक्ट्रिक स्कुटरको मूल्य भने सिंगल ब्याट्रीयुक्तका लागि ३ लाख ५० हजार रुपैयाँ र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ ।
एलईडी टेलल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क ब्रेक, रियर मोनोसक, डिजिटल ड्यासबोर्ड, पन्च फुट रेस्ट फिचर उपलब्ध गराइएको यस स्कुटरमा इको, अर्बान र स्पोर्ट गरी तीन मोड छन् भने ५ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सकिने कम्पनीले जनाएको छ ।
सो अवसरमा ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, निर्देशक विजय महतो र जेसिट्स ब्रान्डको एमभी दुगड ग्रुप नेपालका प्रमुख कनक जमरको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij