२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ । लामिछानेले सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।
एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन् । नेपाली राष्ट्रिय टीम यूएई भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । यदि सन्दीपमाथिको प्रतिवन्ध सर्वोच्चले कायम राख्यो भने उनी यूएई जान पाउने छैनन् । क्यानले सन्दीपको ठाउँमा मौसम ढकाललाई टीममा समावेश गरेको छ ।
अदालतले उच्च अदालतको फैसला उल्टाएर प्रतिवन्ध हटाएको खण्डमा सन्दीप यूएई भ्रमणमा जान पाउने छन्। सन्दीप नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य र प्रमुख बलर हुन् । उनको उत्कृष्ट प्रदर्शनको बलमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला क्लीन स्वीप गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij