२०८२ भाद्र २ गते सोमवार
विदेशजान प्रतिबन्ध लगाउने आदेश बदर गर्न माग गर्दै सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन्। उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ।
काठमाडौं उपत्यका छाड्न पनि प्रहरीसँग अनुमति लिनु पर्नेछ। यसअघि काठमाडौं बाहिर जाँदा उनले प्रहरीसँग अनुमति लिएका थिए। यसरी रोक लगाएर वैयक्तिक स्वतन्त्रता र हिडडुलको अधिकार हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताए।
‘प्रतिवादीको पनि गोपनियताको कुरा हुन्छ। केही मिडियाले जसरी आरोपितका रुपमा प्रस्तुत गरिरहेका छन् यो गलत छ। यसअघि उच्च अदालतले पनि यो मुद्दाको विषयमा नबोल्नु भन्यो तर केही ठूला मिडियाले यसलाई पालना गरेनन्’, उनले भने, ‘सन्दिपले कस्तो खेले उनीहरुलाई मतलव देखिँदैन, हात मिलाए कि मिलाएनन् त्यो प्रमुख बनाए। खेल र अपराधलाई त छुट्याउन सक्नु परो नि।’
सन्दीपले पहिले नै आफू निर्दोष भएको दाबी गर्दै दोषि ठहर भए जेल जान तयार रहेको बताएका थिए। उनीविरुद्ध जाहेरी दर्ता हुँदा विदेशै रहेका सन्दीप आफै स्वदेश फर्किएका थिए।
‘सन्दीप नेपालको न्याय प्रणालीलाई विश्वास गरेर आएका हुन्। दोषि भए जेल पठाइदे भइगो नि। होइन भने उसको पनि त जीवन छ। भोलि निर्दोष भयो भने क्षतिपूर्ति कसले दिन्छ, उसको उपचार कसले दिन्छ?’, घिमिरेले प्रश्न गरे।
यस्तै, सन्दीपले धरौटी रकम बढी भएको भन्दै घटाउन माग गर्ने भएका छन्। उच्च अदालतले उनीसँग २० लाख नगद धरौटी माग गरेको थियो।
‘टेक्निकल पाटोहरू हेर्दैछु। सकियो भने आजै २÷३ बजेतिर सर्वोच्च जान्छौं। सन्दीपलाई तयार भएर बस्नु भनेको छु’, घिमिरेले भने।
उच्च अदालतले काठमाडौं बाहिर जान अनुमति लिनु पर्ने बताए पनि क्रिकेट खेल्न भने प्रतिबन्ध लगाएको थिएन। क्यानले पनि निलम्बन फुकुवा गरेको थियो। ३ महिना थुनामा बसेर फर्किएका सन्दीपले त्रीदेशिय सिरिजमा सानदार प्रदर्शन गरे। उनी यो सिरिजमा सर्वाधिक विकेट लिने क्रिकेटर बने।
त्रिदेशिय सिरिजमा क्लिनस्वीप गरेको नेपालले आगामी साता युएई भ्रमण गर्दैछ। त्यहाँ नेपालले पपुवान्युगिनी र युएईसँग २/२ खेल खेल्नेछ। आगामी सोमबार पहिलो खेल पपुवान्युगिनीसँग खेल्ने तालिका छ। त्यसअघि नै सन्दीप विदेश जान रोक लगाउने निर्णय बदर गराउने प्रयासमा छन्। यदी अदालतले यसअघिको निर्णय बदर नगरे नेपाली टोली सन्दीपबिनै यूएई जानेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij