Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सत्ता छिनाझप्टीः बार्दलीदेखि बार्दलीसम्म

सत्ता छिनाझप्टीः बार्दलीदेखि बार्दलीसम्म


  • 5.1K
    Shares

    • images
    सत्ता छिनाझप्टीः बार्दलीदेखि बार्दलीसम्म

    चपरीमुनिको बास 

    सर्वशक्तिमान बनेका उनकै शब्दमा प्रथम अध्यक्ष ओलीलाई बालुवाटारबाट बार्दली पु¥याइदिएका सुप्रिमो अन्ततः बार्दली बाकै शरणमा पुगेका छन् । नेपाली राजनीतिको एउटा पेचिलो परिहास ! कुनै हालतमा चिहानमा गाडिएको मुर्दालाई जीवनदान दिन्छु भन्नेदेखि राजतन्त्र समूल नष्ट गर्न दसकको बलिदानीपूर्ण जनसमर लडेकाहरूबीच फगत् एक थान सरकार दिन भएको अप्राकृतिक गठजोड अनिश्चितताको आँधीबेहरी छिचोल्दै घिस्रिरहेको छ यहाँ यतिखेर । एकातिर देउवालाई ढुक्क बनाई थाङ्नामा सुताइदिने र अर्कातिर प्रचण्डलाई प्रधानमन्त्रीको ललिपप देखाउने कुटिल ओली फर्मुलाले सम्भव भयो यो अप्रीतिकर गठबन्धन । अक्षमताको पगरी गुतेका र निजी स्वार्थका खातिर पार्टी फोरेका तथापि तैबिसेक राजनीतिमा इमान भएको ठानिएका शेरबहादुरले पुनः राज्य सञ्चालनमा शेर बन्न खोजेपछि बिच्किएका सुप्रिमोले बारम्बार दोहो¥याएको गठबन्धन नभत्काउने आफ्नै कथनलाई क्षणभरमै खण्डित गरिदिएका छन् । पत्नीको पेलान, ज्योतिषको गफ र ओलीको छिर्केदाउको बारूदी धरापमा परेका देउवाको हस्तिनापुरको राज्य गुमेर अन्ततः चपरीमुनिको बास भएको छ । सशक्त प्रतिपक्षमा रहेर पार्टी जोगाउन आएको जनादेशलाई  केही दिने प्रधानमन्त्रीमा सौदामात्र गरेका छैनन् दाहालले,बरू  ओलीको रिमोट कन्ट्रोलमा चल्न र सत्तोसराप एवं हेपाइ हजम गर्नसमेत राजी भएका  छन् । एकातिर विश्वासको मतमा नै भारी आशङ्का व्याप्त छ भने अर्कातिर विश्वासको मत आर्जन नै गरेछन् भने पनि राष्ट्रपति र  सभामुख आफ्नो पोल्टामा पारेपछि हुनसक्ने ओलीको रवैया कति प्रतिशोधपूर्ण होला सहज आकलन गर्न सकिन्छ । मात्र उनी यो चलखेलमा लिप्त नभएको भए संसदीय गणितअनुसार एमाले काँग्रेस गठबन्धन अनिवार्य थियो ।

    बालुवाटारबाट बार्दलीसम्म

    ओलीलाई  बालुवाटारबाट बालकोटको बार्दली पु¥याइदिएको गर्व गर्ने उनले त्यही बार्दलीबाट आफूलाई राज्य सारथिको हैसियत दिलाएका छन् तर निहित स्वार्थ पूरा गर्न भलिभाँती गर्न जानेका ओलीले उनलाई कति भरथेग गर्लान् कुर्नै पर्नेछ केही दिन । त्यसो त माओवादी र मूलतः प्रचण्डको राजनीति मट्टीमा मिलाइदिनका निम्ति निःसन्देह उनले भरमग्दुर यत्न गर्नेछन् जसको छनक पराजयको प्रहार खप्न नसकेर विक्षिप्तझैँ बनेका ओलीका दाहिने हात एमाले  महासचिव शङ्कर पोखरेलले दिइसकेका छन् । काखमा राखेर छुरा प्रहार गर्न ओली कति माहिर छन् भन्ने कुरा उनको निकट विगत मात्र नियाल्दा पनि पर्याप्त हुन्छ । सभामुख र राष्ट्रपति आफ्नो पोल्टामा पारेको दिनबाट प्रचण्ड गलहत्याउने खेलोफड्कोको सुरुआत हुने अन्दाज गर्न कुनै भविष्यवेत्ता बन्नुपर्दैन । ओलीको अतीत नै यथेष्ट हुन्छ । यदि उनमा दुई दुई पटक सम्विधानमाथि बलात्कार गरेको पछुतोको कणमात्र भएको भए स्थिति फरक बन्थ्यो होला वा आफैँले गरेको समझदारी लत्याएका कारण एकीकृत हुन खोजेको वाम आन्दोलन चोइटिएर सिङ्गो समाजवादी अभियान टुक्राटुक्रा भएको पश्चाताप भएको भए सायद आजको दिनमा पनि दिग्विजयको मुद्रामा उनले जुँगामा ताउ लगाएर पदीय भागबन्डाको भाउताउ गर्दैनथे होला । पार्टी विघटनको डिलमा पुग्दा पनि सुप्रिमोलाई भने रणसङ्ग्रामको कमान्डरकै तुजुकमा तेस्रोपटक अन्योलग्रस्त प्रमको रेसमा सगर्व बाघमाथि सयर गर्ने तृष्णाले क्षणभङ्गुर परमानन्द त दिएको होला किन्तु त्यो पानीको फोकासिवाय केही सावित हुनेवाला छैन । सरकारमा माओवादीको यो नै अन्तिम बिसौनी बनाउन दाहालकै शब्दका दुश्मनहरू ज्यान फालेर लागेका छन् । उनी प्रधानमन्त्री बन्नासाथ हौसिएको उत्तर र खिस्रिक परेको दक्षिण तथा सूचना लिने ठाउँमा कब्जा जमाउन पुगेको विश्व साम्राज्यवादलाई हेर्ने हो भने पनि तस्बिर प्रस्ट हुँदै गएको देखिन्छ । एकातिर सत्ताभित्रै बसेर प्रतिपक्षी भूमिका खेल्छु भनेर डङ्का पिटाउनेको ठेलाइ अर्कोतिर हिजो जबर्जस्त बार्दलीमा पु¥याइएका कपटी पात्रको लपेटाइ– निकै महङ्गो पर्नसक्छ सुप्रिमोलाई यी झमेला झेल्न । गोदी मिडिया उनलाई उत्तरको दूतका रूपमा चित्रित गर्न जति लिट्टी कसेर लागेका छन्, यसले उनलाई विश्वासको मत प्राप्त हुनबाटै वञ्चित गराउने खेलोफड्को सुरू भइसकेको सङ्केत गर्छ । रातारात राजावादी र मधेशवादीलाई बुढानीलकण्ठ पु¥याउने हर्कत कताबाट भइरहेछ बुझ्न खासै हम्मे पर्दैन । किन र कसले राजावादीलाई किस्तीमा राखेर प्रधानमन्त्री पद दिने कसम खाएको छ ? यो परिदृश्य पनि छिपेको छैन राजनीतिमा चासो राख्नेहरू माझ । एकातिर अस्थिरता कायमै रहन सहायकसिद्ध जनमत, अर्कातिर अघिपछिझैँ दक्षिणको नाङ्गो चलखेल । यी कुराले पनि सकस नै थप्नेछन् सुप्रिमोलाई ।

    आगामी रणनीति

    गिर्दो साख र  विघटनको डिलमा रहेको पार्टीलाई जोगाउन अब प्रचण्डसँग सीमित विकल्प मात्र बाँकी छन् । पहिलो नाजुक र धरमराउँदो अर्थतन्त्रलाई लयमा ल्याउन प्रयत्न गर्ने । दोस्रो भुइँमान्छेहरूलाई आफ्नो जीवनमा तात्त्विक अन्तर आएको  अनुभूति गराउने । तेस्रो मुलुकको समुन्नति, सुशासन र सेवा प्रवाहमा सहजीकरण गर्ने । चौँथो मन्त्री र सल्लाहकार नियुक्ति गर्दा विज्ञता र सदाचारी छविको ख्याल गर्ने । पाँचौँ सरकार सञ्चालनमा नेपथ्यका खेलाडीको अनुहार कतै नदेखिने गरी स्वनिर्णयको शक्ति पुनस्र्थापित गर्ने । छैटौँ  सङ्घीय शिक्षा ऐन, नागरिकता ऐन र सङ्घीय कर्मचारी ऐन यथाशीघ्र ल्याउने । सातौँ संसदीय गणितले सिर्जेको बाध्यतालाई शिरोधार्य गरी यथासक्य सबैलाई मिलाएर लैजान कोसिस गर्ने । आठौँ असंलग्न परराष्ट्र नीतिलाई बलियो गरी पक्रेर बीआरआई परियोजना, अग्निपथ, एमसीसी तथा एसपीपी जस्ता पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दा मुलुकको बृहत्तर हितलाई ध्यानमा राखी सन्तुलित स्थानमा आफूलाई उभ्याउने । नवौँ प्रचण्डविना नेपाली राजनीतिमा पात पनि हल्लन्न भन्ने आम बुझाइलाई धरमराउन नदिने । दाहालले यति गर्न हिम्मत गरेनन् भने चर्चित स्तम्भकार सीके लालले भनेझैँ उनको सत्तारोहण ’इन्द्रेनी समात्ने लहड’ मा सीमित हुने छ ।

    र, अन्त्यमा,

    एउटा म्यानमा दुइटा तरबार जबर्जस्त कोचिएको यो घडी उपर्युक्त कार्यसम्पादन गर्ने सिलसिलामा कदाचित् दाहाल  सरकार गिरेछ वा देशीविदेशी शक्तिका आडमै किन नहोस् गिराइएछ भने व्यक्तिगत रुपमा उनको र उनले नेतृत्व गरेको पार्टीको साख किमार्थ गिर्ने छैन बरू बढोत्तरी नै हुनेछ । के अघिल्लो गठबन्धनका मार्गचित्र, त्यसले सिकाउन खोजेको सबक र पूरा गर्न बाँकी कार्यभार तिलाञ्जली दिएर किञ्चित विजातीय भुङ्ग्रोमा हात हालेका सुप्रिमोको घैँटामा घाम लाग्ला त ? यहाँ मात्र उनको चातुर्य सिद्ध हुनेछ अन्यथा ‘सत्तालोलुप’ भनेर उनलाई लाग्ने गरेको आरोप कुनै माइकलालले पखाल्न सक्ने छैन । बरू समरको रापतापमा बाघ बनेर सिंहदरबार छिरेका उनी रुझेको बिरालो बनेर सडकमा मुलुक्क मुल्किनेछन् । त्यतिखेर उनको आजको सानसौकतको त कुरै छोडौँ, आफ्नो राजनीतिक अवसानसँगै नेकपा माओवादी केन्द्र भन्ने पार्टीसमेत भावी पुस्ताका निम्ति एकादेशको कथा बन्ने छ । 

    प्रकाशित मिति :पौष २४ २०७९ आइतवार - १८:१५:५९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij