२०८२ भाद्र १६ गते सोमवार
सिङ्गो जीवन अनन्त बाटो र हर यात्राका पाइला चाहिँ जीवनको अंश लागिरहन्छ मलाई बेलाबखत । यसमा जनजनका मत भने पृथक् हुन पनि सक्ने भए । यस्तै विचरणको संयोग जुर्यो यही वर्षको उदाउँदो पौषमा । त्यसो त म गम खाने गर्थेँ बालवयदेखि नै । लाग्थ्यो, 'गगनचरझैँ एक जोर पखेटा भएको भए •••! फेरि अर्को मनले भन्थ्यो- 'के भो त पखेटा नभएर ? एक जोर बलिष्ठ गोडा त छन् नि । हिँडेरै तय गर्न सकिन्छ यात्रा । मूल कुरा मन हो । मन त उडिहाल्छ । प्राकृतिक छटासँग जिस्कन र त्यसलाई सुम्सुम्याउन कसले नै पो छेक्छ र ?' हाम्रो विद्यालयको अवलोकन भ्रमणलाई नि छेकेनन् कुनै तगाराले । जाने गन्तव्य तय भयो पोखरा अर्थात् नेपालीमात्रको स्वप्ननगरी । प्रकृतिले पोखरालाई यसरी झरिझुट्ट बनाइदिएको छ कि मान्छेहरू फसिहाल्छन् यसको मायाबी जालमा । यसको चहक र महक देशदेशावर फैलिएको छ । पोखरा अर्थात् विशाल पोखरी । सायद दर्जनौं ठूल्ठूला पोखरी भएकैले त पोखरा भनियो होला ।
त्यो मात्र होइन ताल वा पोखरी निकटको बस्ती भएकाले पनि यो भूगोललाई पोखरा भनिन सक्छ । चाहे जेसुकै होस्, पुस ठिहीको कुनै पर्वाह नगरी शिक्षक, विद्यार्थी र अन्य गरी तीन दर्जनको सङ्ख्यामा हामी हुइकियौँ पोखरा । एकमात्र अभीष्ट थियो- यसलाई नजिकैबाट सुम्सुम्याउने र मुसार्ने । प्रजातन्त्रको अभ्युदयसँगै जन्मेको नेपाल आदर्श मा•वि•ले अनेकानेक शैक्षिक र भौतिक आरोह-अवरोह छिचोलेर यो गर्विलो स्थान ओगट्न सक्षम हुँदाहुँदै अलिक दूर भूभागमा अवलोकन भ्रमण लैजाने परिपाटी भने बसाल्न नसकेको रहेछ । सायद दुर्घटनालगायत विविध सन्त्रासले काम गरेको हुनसक्छ । किन्तु यसपटक भने आँट गरियो र हाम्रो काँधमा थप जिम्मेवारी रहेको मनन पनि । अधिकांश शिक्षक र विद्यार्थीका निम्ति यो पहिले कहिल्यै नचुमेको स्वप्निल गन्तव्य थियो । म भने पहिले नै रसपान गरिसकेकी यायावर तथापि अनेक ठाउँमा पुग्ने कुतूहल भने ममा पनि कमी थिएन । नेपाल खाल्डोबाट बिदाइको हात हल्लाएर हामी ओरालियौँ नागढुङ्गाबाट । धादिङ जिल्लाका जीवनपुर, केवलपुरजस्ता गुल्जार क्षेत्रहरू टुप्लुकिए पारिपट्टि । निमेषभरमै आइपुग्यो नौबिसे । पृथ्वी राजमार्ग (बाइरोड)लाई देब्रेपट्टी छोडेर महेश खोलाको किनारैकिनार बत्तियौँ हामी । सुमधुर गीत र नाचगान हाम्रा अनन्य साथी बने । धार्के, सिम्ले, महादेव बेसी, गल्छी, गजुरी, मलेखु आदि हुँदै बेनीघाट रोराङ गा•पा• पुगेपछि त्यहाँ आफैँले तयार गरेको नास्ता गर्ने तय भयो । सवारीलाई सडक किनारमा सुस्ताउन दिँदै हामी भने नास्तातिर लाग्यौँ । तर त्यो रमाइलोमा नास्ताको स्वादभन्दा त्यहाँको मनमोहक भूगोल, कर्मधरा(त्रिशूली) र यसोधरा (बुढीगण्डकी)को सङ्गम तथा बेनीघाट बजारको सेरोफेरोलाई पृष्ठभूमि बनाएर क्यामरामा कैद हुने स्वाद बेसी थियो । पवित्र गोसाइँकुण्ड कर्मधराको र मनासलु हिमशिखर यसोधराको शिर । अनादिकालदेखि पवित्र मानिएकाले जनमानसका आस्थाका धरोहर हुन् यी दुवै नदी । किशोर-किशोरीले यिनैलाई साक्षी राखेर खिचाए तस्बिर । युवावयका छात्रछात्राको प्रफुल्लताले हामीलाई समेत आफ्नो किशोर वयको झझल्को दिलायो । आधा घन्टाको समय त एक निमेषझैं चिप्लियो । फेरि पनि गन्तव्य भेट्टाउने हतारोमा रहेका हामी पुनः सुस्तसुस्त गतिमा बेगियौँ । चालक चन्द्र दाइको सवारी हँकाइ बडो गज्जबको लाग्यो । 'बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गरे भन्न सकिन्न ।' भन्ने सवारी नियम शिरोधार्य गर्नुहुँदोरहेछ उहाँले । अब हामी मुग्लिङ, खैरेनी, डुम्रे, छिर्कने, घाँसीकुवा हुँदै तनहुँ सदरमुकाम दमौली पुग्यौँ । होटलमा खाना तयार भएको रहेनछ । अब शून्य समय बिताउने मेलोका निम्ति होटलवालाकै परामर्शमा व्यास गुफा हेर्ने योजना एकाएक तय भयो । व्यास गुफा जहाँ महर्षि व्यासले वेद लेखेका थिए भन्ने जनश्रुति छ । पवित्र व्यासभूमिमा पाइला टेक्न पाउनु आफ्नो अहोभाग्य पनि लाग्यो मनमनै । परन्तु कुनै सहयात्रीसँग पनि त्यो पावन भूमिबारे पूर्व जानकारी नहुनाले आफ्नै तालमा अवलोकन गरी आनन्द त लियौँ किन्तु छात्रछात्रालाई ती स्थानबारे बताउन सकेनौँ । यो हाम्रो नजानिँदो सीमा थियो ।
समयलाई ध्यानमा राखेर केही मिनेट दमौली सेरोफेरोको विचरणपश्चात् फर्कियौँ हामी होटल । अन्ततः भोजन गर्नु नै थियो, पेटको ज्वाला शमन गर्न । 'भाग्यमानीको भागमा माछामासु, अभागीको भागमा आँसु' भनेझैँ खानाको २/४ गाँसमात्र के भित्रिएको थियो पेटमा कचौराको दालमा त साङ्लाले आत्महत्या गरेको पो देखेँ । आवाज निकालेर शिकायत गरूँ सहयात्री मित्रहरू र मखलेल विद्यार्थीहरू कपाकप खाइरहेछन्,चुप रहुँ आफू भोकै पर्ने जोखिम । बेयरालाई बोलाएँ । सुटुक्क शिकायत गरेँ र थपेको तरकारीसित मात्र मुछेर जेनतेन भोक मेटाएँ । खाँदै गर्दा पनि थकथकी भइरह्यो- ज्ञान र जानकारीको अभावले मैले घाँसीकुवा देखाउन र भानुका बारे भन्न सकिनँ । यही पछुतोले लखेटिरह्यो तालचोक नपुग्दासम्म । वास्तवमा नेपाली साहित्यका आदिकवि भानुभक्त र घाँसीबारे बाटोमा परिचर्चा गर्न भुल्नु मेरो महाभूल भएको स्व-निष्कर्षले मेरो अन्तरहृदय चिमोटिरह्यो । यसभन्दा अघि विमानबाट पोखरा उत्रिएकाले पनि मलाई कतिपय स्थान ज्ञान नहुनु अस्वाभाविक थिएन । तसर्थ मैले व्यास गुफा, सेती-मादी सङ्गम देखाउँदै गर्दा मानहुँकोटबारे पनि खासै केही भन्न नसकेको हुँ । दमौलीको माथ भएबाहेक मलाई थप कुरा केही अवगत थिएन त्यतिखेर, त्यो रमाइलो टाकुरोबारे । मैले जामुने, थर्पु, बेलचौतारा, मझुवा खैरेनी र कोत्रेबारे पनि अग्रिम जानकारी लिएकी थिइनँ । अहिले फर्केर हेर्दा या त मैले स्थानियसँग उतिबेला नै सोध्नु पर्थ्यो र अवगत गराउनु पर्थ्यो कलिला मुनाहरूलाई या त चिनजानका मित्रहरूसँग पूर्व सूचना सङ्कलन गर्नुपर्थ्यो ।
मनमा यस्तै कुरा खेलाउँदा खेलाउँदै कोत्रे पो आइपुगेछ । 'अहो ! यो त सिमाना पो हो त तनहुँ र कास्कीको' मनमनै गुनेँ । कोत्रे सकिनासाथ आयो लामीताल । त्यसरी नै डाँडाको नाक,अर्घौंअर्चले र तालचोक । तालचोकबाट दायाँ मोडिएर केही किमि गुड्नासाथ आइपुग्यो बेगनास ताल । ३•१७ वर्ग किमि क्षेत्र ओगटेको १०•६ मि• सम्म गहिरो लेखनाथ अन्तर्गत पर्ने अत्यन्तै रमणीय ताल । अनेक पोजमा तस्बिर लिए सबैले । हर व्यक्ति बेलगाम भएको आभास भयो । किन्तु अबेर नगरी बेगियौँ फेवातालतिर । अमरसिंह चोकनिर आइपुग्दा मेरा नयन एक्कासी आफ्नै सामुन्ने खडा रहेका हिमशैलतिर ठोक्किएछन् । जता हेर्छु हिउँको थुप्रो । अनि दक्षिण र पश्चिमतिर भने हरियाली नै हरियाली । लाग्यो,पोखरा साँच्चिकै पोखरा नै रहेछ । आशा छ, रहिरहने पनि छ । झट्ट सम्झना आयो प्रेम प्रकाश मल्लको । लाग्यो, र त उनी गाउँदा रहेछन्-
'माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै'छ
पोखरा त साँच्चिकैको पोखरा पो रै'छ •••• ।'
फेवातालतिर हान्निँदै थियौँ, देब्रेतर्फ देखियो बसपार्क । सडक किनारको साइन बोर्डमा लेखिएको थियो- पृथ्वी चोक । त्यसपछि गफगाफको सुरमा बस कता मोडियो मेसै पाइनँ मैले । निमेषभरमै पुगिएछ लेकसाइड । फेवाको किनार । लगभग ५•२३ वर्ग किमि क्षेत्रमा फैलिएको नेपालको दोस्रो ठूलो ताल । फेवा गाउँको नजिकैको ताल भएकाले यो ताललाई फेवाताल भनिएको रहेछ। भीडभाडले सवारी मोड्न पनि धौ धौ । 'पुस फासफुस' ! सूर्यास्त हुनै लाग्यो । हामी हतारहतार पङ्क्तिबद्ध भएर समात्यौँ आआफ्ना लाइफ ज्याकेट । चारवटा डुँगा भरिएछ हाम्रो टोलीले । अब नौका विहार ! हेलियो डुँगा फेवामा । हामी भने त्यो चिसोमा पनि रमाइलोले पानी छ्यापाछ्याप गर्न थाल्यौँ । एकछिनमै पुर्याइहाल्यो तालवाराही मन्दिर नाविकले । तत्कालीन कस्केली राजा कुलमण्डन शाहले खरको झुप्रो बनाई स्थापना गरेको पवित्र देवल । अहिलेको तालवाराही कुनै बेला माटोको ढिस्कामाथि रहेको शिला थियो रे । त्यहीँ २०१७ सालमा उत्निखेरका राजा महेन्द्रले मन्दिर स्थापना गरी वाराहीका रुपमा पुज्न थालिएको बताए पुजारीले । तसर्थ हामीले पनि यात्रा सफल रहोस् भन्ने कामना गर्दै दर्शन गर्यौं । सन्ध्याकालीन आरती हेर्यौं । आखिर आस्था न हो ! छात्रछात्राले प्रफुल्ल मुद्रामा कतिपय रोमाञ्चक क्षण भिडियोमा कैद गरे । निकै मोहित हुनुपर्छ उनीहरू भन्ने लख काटेँ मैले । यसैबीच सामूहिक टीका ग्रहण गर्यौं हामीले । त्यतिखेर म त तानामा पो रहेछु । स्मृतिपटलमा फनफनी घुमेको रहेछ चर्चित युवा गायक शिव परियारको गीत- 'फेवातालमा साहिँली डुँगा सलल, सम्झनामा तिम्रो तस्बिर झलल' यिनै सुमधुर शब्दमा पो हराएछु स्वयम् । मान्छेको मन न हो अनेक सम्झनाका ज्वारले द्रवीभूत भै'त हाल्छ । अतीतका कतिपय यादले भत्कियो वर्तमानको बाँध र डुबुल्की मार्न पुगेछु अतीतमै । अलमस्त थिए सबैसबै । र, पनि बास त बस्नै थियो । वारिपट्टि आएका मात्र के थियौँ लेक गार्डेन होटलका सञ्चालक नै लिन आएछन् हामीलाई । सायद मनमनै सोचे होलान्, नयाँ भएकाले मेसोमेलो पो पाएनन् कि ! क्लान्त काया किन्तु चञ्चल मन ! पुनः नाचगानमा सरिक भइयो सबै । एक छिनपछि खाना खाने बोलावट भो । खाँदै गर्दा निकै हेपाइको आभास भो होटलवालाबाट । त्यो मूल्यमा त्यति रद्दी खाना ! शिकायत नै गर्नुपर्ने भो,गर्यौं । परमानन्दमा ढुङ्गा लागेको महसुस भो । व्यापार व्यवसायमा यतिविघ्न बेइमानी किन हुन्छ, हँ ? आफैँलाई प्रश्न गरेँ तर जवाफविहीन ! * समय सीमित र पुग्नुपर्ने गन्तव्य असीमित । हम्मेहम्मे थियो समय व्यवस्थापन गर्न । जेहोस् सोचेझैँ भयो अर्को बिहान । सखारै छोडिछन् निद्रादेवीले, भाले नबास्दै । सबैको ढोका ढक्ढक्याउने जिम्मा आफ्नै । पूरा गरेँ आफ्नो कर्तव्य यथाशीघ्र र यथासक्य । चालक चन्द्र दाइको खबरदारी उस्तै । जानु थियो सराङ्कोट । सूर्योदय चिहाउने चिरपरिचित गन्तव्य । उदयाचलमा सूर्यले घुम्टो नखोल्दै पुग्नुपर्ने १४५० मिटरको उचाइमा अवस्थित टाकुरोको माथमा । पोखरा नियाल्ने प्राकृतिक भ्यू टावर । फेवा किनारबाट २२६५ मिटर लामो केवुलकारबाट केवल नौ मिनेटमै तय गर्न सकिने सुरम्य गिरि । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि र गणेश हिमाललाई छोइएला झैँ नजर गर्न सकिने क्षितिज चुम्ने डाँडो । प्याराग्लाइडिङदेखि जीपलाइनसम्मको मज्जा लिन सकिने पर्यटकीयस्थल । त्यसैले त प्रवीण भट्ट र पूजा देवकोटाले गुन्गुनाएका होलान्- 'सराङ्कोटको डाँडैमा,आऊ बस आडैमा जति गहिरो फेवाताल, त्यति गहिरो हाम्रो मायाजाल' हो, हाम्रो धुमधामको घुमघामबीचको मायाजाल साँच्चिकै फेवातालभन्दा कम गहिरो थिएन । स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै पुग्यौँ हामी । अरू त अरू चियासमेत पिउन पाइएन सबैले र पनि सबै कष्ट बिर्सायो मनमोहक टाकुराले । भ्यू टावरमा टाँसिएको दिलले गोडाको पीडालाई फिका सावित गर्यो । चाहे प्रअ म्याम वा हरि सर, सबैसबैलाई मोहनी लगाउँदै बाहुपासमा बाँध्यो त्यो किल्लाले । अरुणोदयको अमृतमय रसपान गर्यौं हामीले । त्यसैमा लीन हुँदाहुँदै पनि पुनः ओरालिनै पर्थ्यो थप रमणीय स्थलहरू अवलोकन गर्न । भारी मन बोकेर ओराली झर्यौँ सम्झँदै उनै बम बहादुर कार्कीको सुमधुर गीत- 'डाँडैको देवी देउराली, माया हो पात बजाउँदै झरेँ है ओराली, मै बस्छु सम्झी झल्झली' टिकटकमा मस्त हुँदै र कालोपत्रे सडकमा लडिबुडी गर्दै छात्रछात्राले पनि पछ्याए हाम्रो गोहो अर्को गन्तव्य यथाशीघ्र भेट्ने अठोट लिएर । जब भेटियो मूल सडक तब रोकियो हाम्रो सवारी एउटा भव्य देवलको परिसर मुन्तिर । त्यो धार्मिक स्थल थियो- शिखर शैलीमा निर्मित विन्ध्यवासिनी मन्दिर । भोकका मारे पुरी तरकारी अर्डर गरी उक्लियौँ मन्दिर परिसर । पुजारीका अनुसार विन्ध्यवासिनीलाई कालीको अवतारका रुपमा अर्चना गरिन्छ । परिसरमा अवस्थित सरस्वती, शिव, हनुमान र गणेशका साना मन्दिरसमेत अवलोकन गर्यौं । पङ्क्तिबद्ध भएर खडा भए विद्यार्थी भाइबहिनी र केही सहयात्री शिक्षकहरू पनि अर्चनाका खातिर । पूजापश्चात् प्रभातीय चमेना बुत्याइयो । अब भने हामी मोडियौँ महेन्द्र गुफातर्फ । पलभरमै पुगेझै प्रतीत भयो महेन्द्र गुफा । बाटुलेचौरमा रहेको यो गुफाको लम्बाइ १२५ मिटर रहेको गुफाका एक कर्मचारीले अवगत गराए । गुफाभित्र गणेश स्थान र शिवलिङ्ग पनि देखियो । अलौकिक नै लागेको बताउनुभयो पहिलो पटक गुफा दर्शन गर्ने सहयात्री शिक्षकहरूले । गुफा दर्शनको तृष्णा कहाँ मेटिएको थियो र तर समय ! समयलाई ध्यानमा राख्दै यात्रा अघि बढ्यो चमेरे गुफा अवलोकन गर्न । चमेरै चमेरा ! 'साँच्चै के खाएर बाँच्लान् है यी चमेरा?' एक छात्रले जिज्ञासा राखे । अनुत्तरित हामी झसङ्ग भयौँ । पूरै चुनढुङ्गाले बनेको यो गुफा अत्यन्तै लोकप्रिय पर्यटक गन्तव्य भएको अवगत भो टिकट बेच्न बसेका कर्मचारीबाट । स्थानीय विन्ध्यवासिनी मा•वि•को संरक्षण तथा स्वामित्वमा रहेको उक्त गुफामा विगत तीन वर्ष यता नि:शुल्क वाइफाइ सेवा प्रदान गरिएको जानकारी दिए उनैले । धर्म गौँडो उक्लन सक्यो भने त्यो पापी होइन भन्ने किंवदन्ती पनि रहेछ त्यहाँ । पापधर्मभन्दा माथि उठेर उत्सुकता निमन गर्न हामी अधिकांश यायावर छिर्यौँ धर्म गौँडो । ज्ञात थियो, फर्कंदा बाटोमा पर्छ केआई सिंह पुल । सेती नदी माथिको यो पुल नजिकै रहेको उद्यान वारिबाट तत्कालीन प्रधानमन्त्री डा• केआई सिंह घोडासहित फड्केर पारिपट्टि उद्यानतिर सुरक्षित आए रे राणाहरूबाट बँच्नका निम्ति भन्ने कथन छ । खोचमा लुकीलुकी बगेको सेती लम्कीलम्की हेर्यौं हामीले । स्मृतिचित्रमा अकस्मात आयो नदीको आत्मकथा 'म नदी हुँ । मलाई नक्शाअनुसार बगाउन नखोज । बरु म बग्छु, तिमी नक्शा कोर ।' हो, यस्तै भनेको आभास हुन्छ सेतीले । एकतमासले सेती बेगिएको परिदृश्य नियाल्दै गर्दा हठात् सम्झिन पुगेछु उतिबेलाका मूर्धन्य साहित्यकार भीमनिधि तिवारीको काव्यिक श्लोकलाई- 'बग्दा बग्दा अविरल सदा हुन्छ बेला कुबेला पर्ला कैयौँ विकट भुमरी,छालमा हुत्तिएला ।' ढकमक्क फुलेका सेता र पहेंला लालपातेसँग मितेरी गाँसी फर्कियौँ पेटभित्र दौडेका मुसा मार्न । चार गाँस चेपेपछि पुनः हतारो भयो अन्तर्राष्ट्रिय शान्ति स्तूप पुग्न । फेवातालमाथिको डाँडामा अवस्थित यो स्तूप सेतो गुम्बाका नामले पनि विख्यात छ स्थानियमाझ । पोखराको समग्र दृश्यावलोकन धक फुकाएर गरिसकेपछि ओरालियौँ हामी । 'लडाइँमा हजारौंलाई जित्नुभन्दा आफूले आफैँलाई जित्न सक्नेलाई नै सङ्ग्रामजित भनिन्छ ।' भन्ने बुद्धवाणीले मेरो अन्तरहृदय छोयो ओरालिँदै गर्दा । त्यसो त बुद्धका उपदेश आफैँमा जीवन्त भएकैले त फैलिएको होला नि बुद्ध धर्म देशदेशावर । मनमा यस्तै कुरा खेलाउँदै गर्दा घचक्क रोकियो बस । यसो बाहिरफेर नजर लगाएको त पातले छाँगो परिसर । डेभी भन्ने स्विस पर्यटक यही झरनाबाट खसेर बेपत्ता भएकीले यो झरनाको नाम 'डेभिज फल्स' रहन गएको हो ।एउटा प्राकृतिक सुरूङको माध्यमबाट यो झरना करिब ५०० फिट माथिबाट जमिनतहभन्दा १०० फिट तल झर्दछ । यही झरनाको छङ्छङसँग छचल्कियौं हामी पनि केही बेर । तर समयको सीमाले हामीलाई तुरुन्त अगाडिपट्टिको गुप्तेश्वर गुफातिर धकेल्यो । 'डेभिज फल्स'को आवाज सहजै सुनिने यो लोकप्रिय गुफा जमिनबाट झन्डै १५० मिटर तल अवस्थित छ । यहाँका अनेकन् परिदृश्यलाई घुम्ती दूरभाषमा कैद गरेपछि हाम्रो पोखरा विचरणको फन्को तुरियो तर मन भने पटक्कै मानेन पोखरा छोड्न । के गर्नु, एउटा तितो बाध्यता न थियो । उदासीन मन बहलाउन हिमाल सर, फणिन्द्र सर र हरि सरले गाएको लोकदोहोरी सुन्दासुन्दै अँगालो मारिछन् निद्रादेवीले । झल्याँस्स ब्युँझँदा त अर्को प्रभात । झन्डै सपना पो आभास भो विद्यालय प्राङ्गणमा ओर्लँदा !!
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij