२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कमलादीस्थित प्रज्ञाभवनको पुस्तकालय भवनमा सम्पन्न भएको हो ।
सोही कार्यक्रममा शाखाले नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि रहिसकेका १४ जना अग्रज पत्रकारहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरूमा रामचन्द्र हुमागाई स्मृति पुरस्कार ईश्वरीप्रसाद वाग्ले, बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार इन्द्र रिजाल, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार राजेन्द्र स्थापित, अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापा, जसुदा प्रधान स्मृति पुरस्कार देवेन्द्र चुडाल, शोभा शाह स्मृति पुरस्कार निर्मला शर्मा, डम्बर गिरी स्मृति पुरस्कार विश्वराज किराँत, मुरारी गौतम स्मृति पुरस्कार निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पुरस्कार ज्ञान उदास, गोविन्द शर्मा स्मृति पुरस्कार मानध्वज लामा, एमडी कुलुङ स्मृति पुरस्कार टिवी बिरही, तारा न्यौपाने स्मृति पुरस्कार गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पुरस्कार दामोदरप्रसाद दवाडीलाई रहेका छन् । बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका अग्रज पत्रकार ईन्द्र रिजालले आफूले पाएको २० हजार राशी पुरस्कारमा थप १ हजार १ सय ११ रुपैयाँ थप गरी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अक्षय कोषमा जम्मा गरेका छन् । रिजालले उक्त रकम शनिबार नै शाखालाई हस्तान्तरण गरेका हुन् ।
शाखाको २२ औं साधारणसभाको अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनही २० हजार राशी र सम्मानपत्रसहित अग्रज पत्रकारहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।
यसअघि अनी शिखा र तारा न्यौपानेका नाममा संयुक्त रुपमा दिइदै आएको पुरस्कार यसपटक छुट्टाछुट्टै व्यक्तिलाई प्रदान गरिएको शाखाका अध्यक्ष शन्तराम बिडारीले बताए ।
सोही अवसरमा अध्यक्ष बिडारीले साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमको हित–स्वार्थका एजेन्डामा लगातार आवाज उठाउनुका साथै काठमाडौं शाखाले श्रमजिवि पत्रकारहरूको समस्या बुझ्ने वास्तविक साथी बन्ने सक्दो प्रयास गरेको बताए । आफ्नो जन्मदिनको अवसरमा पारेर पत्रकार उपचार कोषमा रु. १० हजार जम्मा गरेका बिडारीले सोही कोषका लागि कामपाले रू १५ लाख सहयोग गरेपछि अन्य स्थानीय निकायबाट पनि सहयोग प्राप्त भए रु. १ करोडको पत्रकार उपचार कोष स्थापना गर्न सकिने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij