२०८२ भाद्र २ गते सोमवार
मोबाइल एप हाम्रो पात्रोले उपलब्ध गराउँदै आएको रेमिट्यान्स सेवा “हाम्रो पात्रो रेमिट” को एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिमा हाम्रो पात्रो रेमिट मार्फत एक अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको कम्पनीले जनाएको छ ।
हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्र्याएको रेमिटको सीईओ सुदिना गौतमले बताइन् । "पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आंकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटको टिम निक्कै उत्साहित छ," उनले भनिन्, "पछिल्लो तीन महिनामा ५० करोड रेमिट्यान्स भित्राएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै २० करोड रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ ।"
अहिले अमेरिकामा मात्र उपलब्ध भइरहेको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । साथै अस्ट्रेलिया, जापान लगायतका देशहरूमा पनि यो सेवा छिट्टै नै सुरु हुने बताइएको छ।
यसका साथै हाम्रो पात्रो रेमिटमा भर्खर मात्र सुरु भएको इन्स्ट्यान्ट पे सुविधाले प्रयोगकर्ताहरूलाई नेपालमा २४ घण्टा भित्र प्राप्त हुने गरी रकम पठाउन सहज भएको कम्पनीले जनाएको छ ।
हाम्रो पात्रोले सार्वजनिक गर्न लागेको “हाम्रो पे” डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ । हाल डिजिटल वालेट “हाम्रो पे” सार्वजनिक हुने अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij