२०८२ भाद्र १० गते मंगलवार
नेपाली बजारमा विद्युतीय सवारी साधनको माग बढ्दो छ। त्यसमा पनि विशेष दुई पांग्रेमा मानिसहरूको रूचि बढ्दो देखिन्छ। बजारमा विद्युतीय स्कुटर बिक्री गर्ने कम्पनीहरू करिब दुई दर्जन छन्। तर विद्युतीय बाइकबारे भने सिमित ग्राहकलाई जानकारी छ।
तपाईं विद्युतीय बाइक किन्ने सोचमा हुनुहुन्छ? प्योर इभीको इट्राइस्ट ३५० एक राम्रो विकल्प हुन सक्छ।
प्योर इभी इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। त्यस्तै यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ। यसलाई पूरा चार्ज गर्न जम्मा ६ घण्टा लाग्छ भने एक पटकको पूरा चार्जमा १४० किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ।
यो बाइकको अगाडि १८ इन्च र पछाडि १७ इन्चको अलोय टायर दिइएको छ। यसमा हाइड्रोलिक डुअल सस्पेन्सन पाउन सकिन्छ भने दुवै पांग्रामा डिस्क ब्रेक दिइएको छ। बाइकको ग्राउन्ड क्लेरेन्स १९८ एमएम र ह्विलबेस १,३७५ एमएम छ।
हेर्दै हलुका यो बाइकको कुल तौल जम्मा १२० केजी छ। त्यसैले बाइकलाई सहजै ह्यान्डल गर्न सकिन्छ। प्योर इभी इट्राइस्ट ३५० तीन राइडिङ मोडमा चलाउन सकिन्छ। यसमा ड्राइभ मोड, क्रस ओभर र थ्रिल गरी तीन ड्राइभिङ मोड छन्।
६० किलोमिटर प्रति घण्टासम्मको रफ्तारको लागि ड्राइभ मोडमा बाइक चलाउन सकिन्छ। ६० देखि ७५ किलोमिटर प्रति घण्टाको रफ्तारको लागि क्रस ओभर र ७५ देखि ८५ किलोमिटर प्रति घण्टाको रफ्तारको लागि थ्रिल मोडमा बाइक चलाउन सकिन्छ।
इट्राइस्ट ३५० मा पुरै डिजिटल ७ इन्चको एलइडी डिस्प्ले, डिजिटल स्पिडोमिटर र डिजिटल ओडोमिटर पाउन सकिन्छ। यसको हेडलाइट र टेललाइट एलइडी छन्।
हाल कम्पनीले प्योर इभी इट्राइस्ट ३५० को बजार मूल्य ३ लाख ९९ हजार रूपैयाँ तोकेको छ। नेपालको लागि प्योर इभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्स रहेको छ।
बजारमा इट्राइस्ट ३५० को प्रतिस्पर्धीको रूपमा सुपर शोको टिएस स्ट्रीट हन्टरलाई लिइन्छ। सुपर शोकोले पनि यतिबेला राम्रो बजार पाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij