२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालय बनेको छ ।
४०० बर्ग फिट क्षेत्रफलमा ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको शौचालयमा वडा १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानकातर्फबाट ब्यहोरिएको छ । शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट््यांकी राखिएको छ ।
शौचालयमा महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन पनि छ । शौचालयका सुबिधा स्वचालित प्रविधिमा आधारित छन् । शौचालयको विशेषताका बारेमा जानकारी दिँदै सरसफाइमा काम गर्दै आएको संस्था ‘एरोसान’का राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भने, ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन । प्रबिधि र वातावरणमैत्री दुवै पक्ष जोडेर यसलाई नमूना बनाइएको हो ।’
शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन -हृयाण्ड ड्रायर) जडान गरिएका छन् ।
त्यहाँ पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १/१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।
नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका बिशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोष्ट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij